
शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नम्बर प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो ।
बैठकमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गरेका थिए ।
उक्त प्रस्तावमा नेपाली कांग्रेस जुम्लाका सांसद दीनबन्धु श्रेष्ठ, एमाले डोल्पाका सांसद वीरबहादुर शाही र राप्रपा कालिकोटका सांसद सोशिला शाहीले समर्थन गरेका थिए ।
४० प्रदेशसभा सदस्यमध्ये ३७ जनाले सो प्रस्तावको पक्षमा मत जाहेर गरेको तथा मुगुबाट निर्वाचित सांसद चन्द्रबहादुर शाही र झोवा विक अनुपस्थित रहेको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।
बैठकमा सभामुख शाहीले यस प्रदेशको नाम ‘कर्णाली प्रदेश’ भनेर घोषणा गरेका थिए ।
बैठकमा प्रस्तुत् प्रस्तावको छलफलमा प्रदेशसभा सदस्य सीता नेपाली, कृष्णा शाह, हिमबहादुर शाही, कौशिला खत्री, दानसिंह परियार र पदमबहादुर रोकायाले भाग लिएका थिए ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत
बैठकले सर्वसम्मतरुपमा प्रदेश नम्बर–६ को प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर) राख्ने निर्णय गरेको छ ।
शनिबार बसेको प्रदेशसभाको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘प्रदेश राजधानी सुर्खेतमा राखियोस्’ भनी प्रस्ताव गरेका थिए ।
सो प्रस्तावमा नेकपा एमालेका सांसद गुलाबजंग शाह र नेकपा माओवादी केन्द्रका सांसद गणेशप्रसाद सिंहले समर्थन जनाएका थिए ।
प्रदेशको राजधानी सुर्खेत राख्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको विकल्प नरहेको बताए ।
कांग्रेसका सांसद यज्ञबहादुर बिसीले कर्णाली प्रदेशमा सरकार पक्ष र प्रतिपक्षको अनुभूति नभएको बताए ।
‘प्रदेशको नाम र राजधानी सर्वसम्मत् तोक्न सफल भएका छौं र हामीले कोही सत्ता र कोही प्रतिपक्षको सांसदको अनुभूति गर्न पाएनौं’–उनले भने ।
‘समृद्ध प्रदेश निर्माण गर्न आगामी दिनमा सत्तापक्ष र प्रतिपक्षको महसुस हुनेछैन र प्रदेशको विकासमा एकमतका साथ अघि बढ्नेछौं’–उनले भने ।
छलफलमा भाग लिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशको मौसमी राजधानीको व्यवस्था गरिनुपर्ने बताए ।
यो प्रदेशलाई ग्रीष्मकालीन र शीतकालीन राजधानीकोरुपमा विकास गरिनुपर्ने भन्दै कर्णालीको केन्द्र जुम्लालाई ग्रीष्मकालीन र वीरेन्द्रनगरलाई शीतकालीन राजधानी बनाउनुपर्ने धारणा राखे ।
सांसद शाहीद्वारा नियमापत्ति
नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशको राजधानी सुर्खेत राखियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सरकारका मन्त्रीहरुले भाग लिन नमिल्ने भन्दै नियामपत्ति गरे ।
प्रदेश राजधानी सुर्खेत बनाउनुपर्ने प्रस्तावमाथि भएको छलफलमा भाग लिनका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाई सभामुख राजबहादुर शाहीले बोल्न समय दिएपछि सांसद शाहीले नियमापत्ति जनाएका हुन् ।
‘समामुख महोदय प्रदेशको राजधानी तोक्ने विषयको प्रस्ताव तथा सरकारले प्रस्तुत् गरेका प्रस्तावमा सरकारका मन्त्रीहरुले बोल्ने परम्परा छैन । यो प्रदेशमा नयाँ नियम भए संसदलाई जानकारी होस्’–उनले भने ।
सभामुख शाहीले मन्त्री भण्डारीलाई बोल्न दिएपछि संसदीय परम्पराविपरीत सरकारका मन्त्रीले सरकारकै प्रस्तावमा भाग लिन नपाउने भन्दै सभामुखको ध्यानाकर्षण गराए ।
सभामुख शाहीले मन्त्री भण्डारी मन्त्रीमात्र नभइ जुम्लाको सांसद भएकाले प्रस्तावमाथि बोल्न समय दिएको बताएपछि विपक्षी दलका नेतासांसद शाही आशनमा बसेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्