
शनिबार भएका सेमिफाइनल खेलमा विजयी हुँदै दुवै टोली उपाधिनजिक पुगेका हुन् ।
पूर्वाञ्चलले मध्यमाञ्चललाई ५३ रनले पराजित गरेको हो भने सशस्त्रले घरेलु टोली सुदूरपश्चिमाञ्चललाई ८१ रनले हराएको हो ।
शनिबार भएको पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले काजोल श्रेष्ठको अविजित ५५ रनको मद्दतले निर्धारित् २० ओभरमा २ विकेट गुमाउँदै ११९ रन बनाएको थियो ।
पूर्वाञ्चलका लागि अप्सरी बेगमले ३२ र कप्तान रुबिना क्षत्रीले अविजित १४ रन बनाइन् । काजोल र अप्सरीबीच तेस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो ।
मध्यमाञ्चलकी रोजी कडारीले १ विकेट लिइन् ।
जवाफमा मध्यमाञ्चलले २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमात्रै बनाउन सक्यो । मध्यमाञ्चलका लागि कन्चन श्रेष्ठले २१ र सीता श्रेष्ठले १७ रन बनाइन् ।
पूर्वाञ्चलकी कप्तान क्षत्रीले ४ ओभरमा एक मेडन राख्दै ६ रन दिएर ३ विकेट लिइन् । सब्नव राई, सन्तोषी चौधरी र संगीता राईले समान १/१ विकेट लिए ।
खेलको ‘प्लेयर अफ दी म्याच’ पूर्वाञ्चलकी काजोल श्रेष्ठ घोषित भइन् ।
सशस्त्रले सुदूरपश्चिमलाई रोक्यो
शनिबारै भएको दोस्रो सेमिफाइनलमा सशस्त्रले सुदूरपश्चिमलाई ८१ रनले हरायो ।
टस हारेर पहिले ब्याटिङ गर्न क्रिजमा उत्रिएको सशस्त्रले २० ओभरमा ४ विकेटको क्षतिमा १३१ रन बनाएको थियो ।
सशस्त्रका लागि सीता रानामगरले ५१, सरिता मगरले ३७ र ज्योति पाण्डेयले १८ रनको योगदान गरे ।
सुदूरपश्चिमका लागि सुमन विष्ट, लक्ष्मी साउद र निशा भट्टले समान १÷१ विकेट लिए ।
१३२ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभरमा सबै विकेट गुमाएर ५१ रनमात्रै बनाउन सक्यो ।
सुदूरपश्चिमका लागि निशा भट्टले ११ रन बनाउनबाहेक अरुले दोहोरो अंक छुन सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्नेक्रममा सशस्त्रका सीता मगर र करुण भण्डारीले समान ३/३ विकेट लिए । यस्तै, अन्जली चन्दले २ तथा सीता रानामगरले १ विकेट लिए ।
खेलको ‘प्लेयर अफ दी म्याच’ सशस्त्रकी सीता रानामगर घोषित भइन् ।
फाइनल खेल आइतबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्