२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा : दाहाल


0
Shares

दाहालले अध्ययन गरेको नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय, शिवनगरको ५४औं वार्षिकोत्सव कार्यक्रमलाई शनिबार चितवनमा सम्बोधन गर्दै उनले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा भएको बताए ।

नेपालको शिक्षा नीतिका कारण बेरोजगारी बढेको बताउँदै उनले यसलाई परिवर्तन गर्नु आवश्यक रहेको बताए ।

उनले भने–‘एमए पढेका, डिग्री हासिल गरेका हजारौं हजार युवा विदेशिनेक्रम जारी छ । विदेशमा गएर अपमानजनक तरिकाले पनि आर्थिक लाभ लिनुपर्ने अवस्था नेपालीमा रहेको छ । हाम्रो शिक्षा नीति कता–कता बेरोजगार उत्पादन गर्नेजस्तो देखिएको छ ।’

शिक्षा नीतिमा सुधार गरी राज्यको लगानी बढाउनुपर्ने बताउँदै उनले शिक्षालाई आविष्कार, अनुसन्धान गर्ने एक बृहत् प्रक्रियाकारुपमा अघि नबढाइ मुलुकलाई समृद्धितर्फ लान नसकिने बताए ।

उनले भने–‘आविष्कार गर्ने तरिकाले शिक्षालाई अगाडि लैजानु आवश्यक छ । तर, शिक्षामा लगानी बढ्दो होइन, घट्दोक्रममा रहेको छ ।’

पछिल्लो समयमा शिक्षा क्षेत्रमा निजीकरणको दबदबा बढ्दै गएको बताउँदै उनले सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्कँदो रहेको बताए ।

शिक्षा क्षेत्रमा गुणात्मक सुधार आवश्यक रहेको भन्दै उनले अहिलेकोजस्तो सामान्य मात्रात्मक सुधारले शिक्षा क्षेत्रलाई नहुने बताए ।

उनले उक्त विद्यालयमा प्राविधिक शिक्षाको अध्ययन गराउनका लागि आफूले मन्त्रिपरिषदबाटै निर्णय गर्न लगाउने पनि बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्यहरु कृष्ण भूर्तेल, रामलाल महतो, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरीलगायतले बोलेका थिए । रासस