
रक्षामन्त्री ईश्वर पोखरेल
नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेल नेकपा एमालेका महासचिव हुन् । उनी यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए ।
वि.सं. २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले देउवा सरकार भंग गरिदिएपछि उनी स्वतः पदमुक्त भइ सप्तरीमा प्रहरी हिरासतमा पुगेका थिए ।
पहिलो संविधानसभा भंग हुनेबेलामा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा दोस्रोपटक उपप्रधान एवं परराष्ट्रमन्त्री बनेका पोखरेल केही दिनमै सरकारबाट बाहिरिएका थिए ।
वि.सं. २०१० सालमा ओखलढुंगामा जन्मिएका पोखरेल काठमाडौं–५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।
गृहमन्त्री रामबहादुर थापा
गृहमन्त्री रामबहादुर थापा पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री भएका बेला रक्षामन्त्री रहेका थिए ।
प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउने प्रकरणमा दाहालले राजीनामा गरेसँगै सरकारबाट हटेका उनी माओवादी केन्द्र विभाजन गरी मोहन वैद्य नेतृत्वमा गठित नेकपा माओवादीमा महासचिव बनेका थिए ।
वैद्य समूहबाट पुनः माओवादी केन्द्रमा फर्किएका थापा पछिल्लो समयमा दाहालका निकटतम् सहयोगी मानिन्छन् ।
वि.सं. २०१२ सालमा जन्मिएका थापा अहिले राष्ट्रियसभाका सदस्य हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका मातृका यादव यसअघि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वनमन्त्री भएका थिए ।
त्यसबेला एलडीओलाई शौचालयमा थुन्नेलगायतका कामबाट चर्चामा रहेका यादव माओवादी पार्टीबाट अलग भइ आफ्नै नेतृत्वमा नयाँ पार्टी खोल्न पुगेका थिए । पछि उनी पुनः माओवादी केन्द्रकामा फर्किएका हुन् ।
उनी धनुषा–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।
अर्थमन्त्री डा. युवराज खतिवडा
राजनीतिमा नयाँ अनुहारकारुपमा अर्थमन्त्रीको पद सम्हाल्न पुगेका डा. युवराज खतिवडा चर्चित अथविद् हुन् ।
वि.सं. २०१९ सालमा जन्मिएका खतिवडाले नेपाल राष्ट्र बैंकको १५औं गभर्नरकारुपमा काम गरिसकेका छन् ।
खतिवडा वि.सं.२०५९ देखि २०६२ सम्म राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष बनेका थिए ।
मौद्रिक नीतिका विद्यावारिधि खतिवडा एमाले–माओवादी केन्द्र गठबन्धनको घोषणापत्रमा आर्थिक मार्गचित्र तयार गर्न संलग्न थिए ।
राष्ट्रियसभामा मनोनीत उनको शपथग्रहण भने सर्वोच्च अदालतको आदेशमा रोकिएको अवस्था छ ।
प्रतिक्रिया दिनुहोस्