
वर्षाले प्रभावित हुँदा २९ ओभरमा झारिएको खेल विजयका लागि नेपालले १७२ रनको चुनौती पछ्याइरहेको छ ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको युएईले २८ ओभर ५ बलमा अलआउट हुँदै १७१ रन बनायो ।
बलिङतर्फ नेपालका ललित भण्डारीले ४ विकेट लिए । ललितले ६ ओभरमा ४० रन खर्चेर ४ विकेट लिएका हुन् । त्यसैगरी, करण केसीले ३, ललित राजवंशीले २ तथा पारस खड्काले १ विकेट लिए ।
नेपालले बिहीबार हङकङसँग दोस्रो अभ्यास खेल खेल्नेछ ।
नामिबियामा केही दिनअघि सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ को शीर्ष दुईमा रहँदै युएई र नेपालले एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएका हुन् ।
दुई साताको फरकमा नेपालल युएईसँग तेस्रोपटक खेलेको हो । नामिबियामा भएको डिभिजन–२ को खेलमा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले पराजित गर्दा फाइनलमा ७ रनले हारेको थियो ।
जिम्बाब्वेमा फागुन २० गतेदेखि हुने छनोट प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन् । उत्कृष्ट हुने दुई टिमले विश्वकप खेल्न पाउनेछन् ।
प्रतियोगिताबाट उत्कृष्ट तीन एसोसिएट रास्ट्रले एकदिवसीय राष्ट्रको मान्यता पाउनेछन् । नेपाल समूह ‘बी’मा अफगानिस्तान, जिम्बाब्वे, हङकङ र स्कटल्यान्डसँगै रहेको छ ।
नेपालले पहिलो खेल फागुन २० गते आइतबार घरेलु टोली जिम्बाब्वेविरुद्ध खेल्नेछ । दोस्रो खेलमा नेपालले फागुन २४ स्कटल्यान्डको सामना गर्नेछ भने फागुन २६ मा अफगानिस्तान र फागुन २८ मा हङकङको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्