२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बझाङको लेकगाउँमा खानेपानीको हाहाकार


0
Shares

डीबी विष्ट/ईमेज:
बझाङ, फागुन १६ । बझाङको दुर्गम छविस पाथीभेरा गाउँपालिका वडा नम्बर ६ लेकगाउँमा खानेपानीको हाहाकार भएको छ ।

बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका बासिन्दाको समस्या अझै टरेको छैन ।

बझाङको पाथीभेरा गाउँपालिका–६ लेकगाउँका स्थानीय बासिन्दाले बर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका छन् ।

खानेपानीका धारा गाउँभरी जडान भए पनि पानी नआएपछि उनीहरुले सास्ती खेप्नुपरेको हो ।

लाखौंको लगानीमा निर्माण गरेका खानेपानीका धारामा एकपटक समेत पानी नआएर बन्द भएको स्थानीयको गुनासो छ ।

खानेपानीका मुहान निकै टाढा भएका कारण र भएका केही मुहानसमेत सुकेका कारण समस्या भएको स्थानीय जयबहादुर बुढा बताउँछन् ।

बझाङ खुल्ला दिशा मुक्त जिल्ला घोषित भए पनि शौचालयमा प्रयोग गर्ने पानीसमेत नहुँदा यहाँका बासिन्दाले खुल्ला ठाउँमा शौच गर्ने गरेका छन् ।

चर्पीमा हाल्ने पानीसमेत नहुँदा निकै समस्या भएको उनीहरुको गुनासो छ ।

गाउँमा पानी नभएकै कारण विद्यालय जाने उमेरका बालबालिका समेत विद्यालय जान पाएका छैनन् । विहानदेखि बेलुका अबेरसम्म पानी भर्नका लागी लाइन बस्नु परेको गुनासो उनीहरुको छ ।

पानीको चरम समस्या हुँदासमेत स्थानीय सरकारले समस्या समाधान गर्न चासो नदेखाएको गुनासो स्थानीयको छ । उनीहरुले आफूहरुका समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।