१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


नेपालको सहमतिबिनै महाकालीमा भारतले चारओटा पुल बनायो


0
Shares

केही महिनापहिले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको छ ।

भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्रनजिकै पर्ने नजांग खोला, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठेपुल लगाएको हो ।

दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदी वारपार गर्नका लागि अस्थायीरुपमा काठेपुल लगाएको स्थानीयवासीले बताएका छन् ।

हाल उक्त पुलबाट भारतले सडक निर्माणमा लगाएका मजदुर आवत–जावत गर्ने गरेका छन् । भारतले हाल कालापानीसम्म सडक निर्माणका लागि ट्र्याक खोल्ने कार्य गरिरहेको छ ।

केही समयअगाडि भारतीय प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलामा हेभी इक्युपमेन्ट (डोजर) ढुवानी गर्न भन्दै पत्रमार्फत् अनुरोध गरेको थियो ।

भारतीयको अनुरोधबारे जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराइसकेको छ भने गृह मन्त्रालयबाट अझै स्वीकृति नआएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

भारतले आफूलाई आवश्यक पर्ने चारओटा अस्थायी काठेपुल निर्माण गरिसकेको छ । भारतले लखनपुरमा महाकाली नदी पार गरी नेपाली भूमि भएर तीनओटा डोजर आफ्नो भूमि लगेको छ । डोजरले नेपाली भूमिमा बाटोसमेत खनेको छ ।

नेपालको तम्बाकु खोलादेखि थिइको भीरको फेदसम्म भारतीय पक्षले पैदल बाटोसमेत निर्माण गरेको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिए ।

भारतले लगाउने झोलुंगेपुल तथा बाटो निर्माणकाबारेमा आगामी फागुन २१ गते पिथौरागढमा हुने नेपाल र भारतका अधिकारीको समन्वय बैठकमा एजेन्डासमेत बन्ने भएको थियो ।

काठेपुल निर्माण गरे÷नगरेको विषयमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, दार्चुला र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले अनुगमन गरेपछि पुल निर्माण गरेको पुष्टि भएको हो ।

‘सीमा नदीमा अस्थायी पुल निर्माण तथा दुई देशबीच सुरक्षाका हिसाबले कुनैपनि कार्य गर्दा समन्वय गर्नुपर्ने हो, भारतीय पक्षबाट समन्वय भएन’–प्रजिअ गौतमले भने ।

पुल निर्माण नेपालको मानवबस्तीभन्दा माथि छ । दुम्लिङभन्दामाथि पुल लगाइएका कारण नेपालीले भने पुल प्रयोग गर्न पाएका छैनन् ।

व्यासको वडा नम्बर–२ को दुम्लिङ बस्तीभन्दामाथि निर्माण गरिएको पुलले नेपालीलाई फाइदा नपुग्ने भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुल निर्माणका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

व्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकी नेतृत्वको टोलीले आफूहरुलेसमेत प्रयोग गर्नेगरी काठेपुल लगाउनुपर्ने माग गरेका छन् । रासस