
संसद भवन नयाँ बानेश्वरमा ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट प्रतिनिधि सभाका सांसदहरुले सपथ लिएका हुन् ।
प्रतिनिधिसभामा २ सय ७५ जना सांसद छन् ।
राष्ट्रियसभाका सांसदहरुलाई पनि आजै सपथ गराइएको छ । ज्येष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रिय सभाका सांसदहरुलाई सपथ गराइन् ।
राष्ट्रिय सभामा ५९ जना सांसद रहेकोमा सरकारको सिफारिसमा मनोनित भएका युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको शपथ भने सर्वोच्च अदालतले रोकिदिएको छ ।
यस्तै, फौजदारी अभियोग लागेका कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरी अदालतको आदेशमा थुनामा रहेकाले उनले पनि सपथ लिन पाएनन् ।
आफ्नै कारण अनुपस्थित रहेका सांसदका हकमा शपथका लागि पछि निर्णय हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।
यसैबीच ४४ जना सांसदले मातृभाषामा शपथ लिएका छन् । संसद्को बैठक भने भोलि बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्