
भारतको पिथौरागढ जिल्लामा नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा अनुमतिबिना सीमा नदीमा पुल लगाउनु ठूलो गल्ती भएको स्वीकार गरेको हो ।
महाकालीमा लगाइएका अस्थायी काठेपुल नेपाल सरकारले अनुमति दिएपछिमात्रै सन्चालन हुनेछन् ।
अबदेखि दुवैतर्फ केन्द्र सरकारको अनुमति लिएरमात्रै काठेपुलबाट आवागमन सन्चालन गर्ने बैठकले निष्कर्ष निकालेको छ ।
नेपालको व्यास गाउँपालिका वडा नम्बर–२ का विभिन्न ठाउँमा चारओटा काठेपुल नेपालको सहमतिबिनै लगाएको थियो ।
नेपाली भूमिमा बनाइएको बाटो केन्द्र सरकारको अनुमतिपछिमात्रै सन्चालन गर्ने सोमबारको बैठकमा सहमति भएको हो ।
भारतीय पक्षले व्यास–२ को राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंगखोला, लखनपुर र बुदीको कौथलामा चार पुल निर्माण गरेको थियो । साथै, नेपाली भूमिमा डेढ किमि सडक र झन्डै दुई किमि गोरेटो बाटोसमेत निर्माण गरिएको छ ।
बैठकमा नेपालको बांगबगर पारि भारतको खोतिलाबाट खसेको पहिरो व्यवस्थापनका विषयमासमेत दुई देशका प्राविधिकको टोलीले अध्ययन गर्ने सहमति भएको नेपालका तर्फबाट बैठकमा सहभागी प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।
बैठकमा सीमापार अपराध नियन्त्रण, नेपाल भारत जोड्ने प्रस्तावित झोलुंगेपुल, बांगबगर खोतिला पहिरो, व्यास क्षेत्रका बासिन्दाको आवत–जावत, वन तथा वन्यजन्तुको ओसारपसार र चोरी–निकासी नियन्त्रणका विषयमा छलफल भएको दार्चुलाका प्रजिअ जनार्दन गौतमले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्