२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पाकिस्तानी प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता


0
Shares

अब्बासी बसेको होटेल हायातमा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ ।

भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा आफूहरुबीच छलफल भएको बताए ।
करिब ४५ मिनेट भएको भेटवार्तामा आर्थिक एवं व्यापारका विषयलाई सुदृढ गरेर लैजाने विषयमा विचारविमर्श भएको उनले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले दुईपक्षीय एवं बहुपक्षीय विषयमा छलफल हुँदा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील बनाउन सबै सदस्य राष्ट्रले पहल गर्नुपर्नेमा जोड दिइएको बताए ।

सार्कको विषयमा ठोस छलफल नभएको भन्दै उनले सार्क शिखर सम्मेलनलाई अगाडि बढाउने सन्दर्भमा पाकिस्तानले निरन्तर पहल गरिरहेको पाकिस्तानी प्रधानमन्त्रीले बताएको जानकारी दिए ।

बैठकमा अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा तथा जोखबहादुर महराको सहभागिता थियो । (रासस)