२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


हुम्लामा एक सातादेखि विद्युत सप्लाई बन्द


0
Shares

हुम्ला, फागुन २२ । हुम्लाको सिमकोटमा रहेको हिल्दुम साना जलविद्युत् आयोजना र हिल्दुम वितरण केन्द्रको चरम लापरवाहीका कारण गत सोमबारदेखि सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् सप्लाई बन्द भएको छ ।

दुई गाउँपालिकामा विस्तार गरिएको बिद्युत बन्द हुँदा उपभोक्ता मारमा परेका छन् । सोमबारबाट विद्युत अवरुद्ध भएपछि सूचना प्रकाशन गरी विद्युत् प्राधिकरणले मर्मत नहुन्जेलसम्म सेवा दिन नसकिने जानकारी दिइएको छ ।

यसअघि दैनिक ९ घन्टासम्म लोडसेडिङ गर्दै आएको विद्युत् एक हप्तादेखि पूर्णरुपमा बन्द हुँदा उपभोक्ता अन्योलमा छन् ।

मर्मतका लागि क्षेत्रीय कार्यालय नेपालगञ्जबाट प्राविधिक आउनुपर्ने भएकाले काममा ढिलाई भएको प्राधिकरण हुम्लाका निमित्त कार्यालय प्रमुख बिर्ख दमाईले जानकारी दिए ।

विद्युत् सप्लाइ नहुँदा सिमकोटका दुई वटा एफ.एम रेडियोको प्रसारण बन्द भएको छ भने सरकारी तथा गैरसरकारी संघसंस्थाका कामकाजसमेत प्रभावित भएका छन् ।