२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बढी शुल्क लिने पाँच विद्यालय कारबाहीको सूचीमा


0
Shares

ललितपुरका जेम्स विद्यालय धापाखेल, प्रिमियर इन्टरनेसनल विद्यालय सातदोबाटो, युलेन्स एजुकेसन फाउन्डेसन खुमलटार, रातो बंगला पाटन र द चाँदबाग विद्यालय काठमाडौं, बाँसबारीलाई कारबाही प्रक्रिया अघि बढाउन तयारी भइरहेको विभागले जनाएको छ ।

अनुगमनकाक्रममा ती विद्यालयले बढी शुल्क लिएकोे पाइएकाले मुद्दा दर्ताका लागि सरकारी वकिलको कार्यालयमा सूची पठाउन लागिएको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिए ।

केही वर्षदेखि खाद्य वस्तुको मात्र अनुगमन गर्दै आएको विभागले पछिल्लो समय यातायात, भवन निर्माणका सामग्री र विद्यालयकोसमेत अनुगमन गर्दै आएको छ ।

विभागले गत पुस पहिलो सातादेखि सुरु गरेको निजी विद्यालय अनुगमनकाक्रममा काठमाडौं उपत्यकाका १५ विद्यालयको अनुगमन गरिसकेको छ ।

अनुगमन गरिएका १० विद्यालयको व्यवस्थापन पक्षकाबारेमा थप अनुसन्धान भइरहेको छ ।

थप अनुसन्धानकाक्रममा केही कमजोरी देखापरेमा ती विद्यालयमाथिसमेत कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ । विभागले अहिलेपनि बजार अनुगमनलाई निरन्तरता दिइरहेको छ ।

लामो समयको अनुगमनपछि ती क्षेत्रमा केही सुधार आएको विभागको जिकिर छ । रासस