२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एड्सबाट कन्चनपुरमा १४२ जनाको मृत्यु


0
Shares

जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४८९ जना रहेको छ ।

कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २५८ एचआइभी संक्रमितले महाकाली अञ्चल अस्पतालमा नियमित औषधि सेवन गरिरहेको जानकारी दिए ।

‘सुरुवातका दिनमा संक्रमितहरु खुलेर आउन अप्ठ्यारो मान्ने गरेका थिए । पछिल्लो समय उनीहरु स्वास्थ्य सेवा लिन आउने गरेका छन्’–उनले भने ।

जिल्लामा ५० जनाभन्दा बढी बालबालिका एचआइभीबाट संक्रमित छन् । महिलाभन्दा पुरुषमा यसको संक्रमण बढी देखिएको विष्टले बताए ।

जिल्लामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), थागिल विकास समाज, ‘ब्लु डायमन्ड’ सोसाइटीलगायत गैरसरकारी संस्था एचआइभी न्यूनीकरणका क्षेत्रमा सक्रिय छन् ।

संक्रमितलाई निःशुल्करुपमा औषधि र स्वास्थ्य सेवा प्रदान गरिँदै आएको महाकाली अञ्चल अस्पताल एआरटी शाखाका प्रमुख नन्दराम भट्टले बताए ।

‘संक्रमित नियमित औषधि सेवनका लागि आउने गरेका छन्’–उनले भने ।

औषधि सेवन गर्न आउनेमा २० जनाभन्दा बढी बालबालिका रहेका छन् । संक्रमितलाई सबैखाले स्वास्थ्य सेवासँगै यातायात सुविधासमेत दिने गरेको भट्टले बताए ।

संक्रमितलाई अन्य अस्पताल पठाउनसमेत विभिन्न गैरसरकारी संस्थाले सहयोग गर्दैआएका छन् । रासस