१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पुरुषभन्दा महिलामा मिर्गौला रोगको समस्या बढी, यसो भन्छन् डाक्टरहरु (भिडियो)


0
Shares

पुरुषमा भन्दा महिलामा मिर्गौला रोगको समस्या बढी देखिएका कारण महिलालाई स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले यो वर्ष ‘मिर्गौला र महिलाको स्वास्थ्य’ भन्ने नारा तय गरिएको हो ।

विश्वभर १९ करोड ५० लाख महिला मिर्गौला रोगबाट प्रभावित रहेको तथ्यांक छ । नेपालमा पनि मिर्गौला रोगको समस्या पुरुषको भन्दा महिलामा नै बढी देखिएको छ ।

नेपालमा कूल जनसंख्याको करिव १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको अनुमान गरिएको छ । वार्षिक ३ हजार नयाँ बिरामी थपिने गरेको अनुमान छ ।

खानपान, जीवनशैली र जथाभावी औषधि सेवन गर्नेमा मिर्गौला रोगको समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

गर्भावस्थामा हुने जटिलताले पनि मिर्गौला रोगको खतरा बढाउँछ । गर्भवती महिलामा कुनै समस्या देखियो भने उसको शिशुमा समेत मिर्गौलासम्बन्धी असर देखिने मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बताए ।

गर्भवती महिलाले सन्तुलित भोजन नगर्दा त्यसले गर्भमा रहेको बच्चालाई समेत असर पार्छ । जसका कारण कम तौल भएका शिशु जम्मने सम्भावन बढी हुन्छ । यस्ता शिशु जन्मजात नै मिर्गौलाको समस्या लिएर जन्मछन् ।

बढी उमेरका मानिसलाई रातो मासु खानु मिर्गौलाका लागी घातक हुन्छ । यस्तै जथाभावी औषधिको प्रयोगले पनि मिर्गौला बिगार्ने गर्दछ ।

असन्तुलित खानपानकै कारण मिर्गौलाका समस्या बढी देखिने गरेको छ ।

उपचारका लागि अस्पतालमा भर्ना भएकाहरु पनि असन्तुलित खानपान र बढी औषधि सेवन गरेका कारण आफ्नो मिर्गौला बिग्रिएको स्वीकार गर्छन् ।

मिर्गौला रोगीको संख्या बढ्दै गएपछि सरकारले डायलासिस र प्रत्यारोपण निःशुल्क गरेको छ ।

हाल नेपालमा ५१ वटा डायलासिस सेन्टरबाट २८ सयले डायलासिस गराइरहेका छन् ।

खानपान र जीवन शैलीमा ध्यान दिन सके मिर्गौलामा हुने समस्याबाट धेरै हदसम्म मुक्त हुन सकिन्छ ।

भिडियो