२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सामूहिक बलात्कारपीडित बालिका अस्पतालमा, सहयोगको अपेक्षा (भिडियो)


0
Shares

उनको अवस्था अहिले सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

गत फागुन १६ गते बुधबारको दिन ८ वर्षीया बालिका ‘गुडिया’ आफ्ना बाबु लालबहादुर मुखियासँग माछा मार्न खोलामा गएकी थिइन् ।

माछा मारिसकेपछि बाबु लालबहादुरले छोरीलाई घाँस काटेर घर जान भन्दै आफू बजारतिर गए ।

बारीमा घास काट्दै गरेकी गुडियालाई रक्सीको नसामा रहेका झन्डै ३५ वर्ष उमेरका तीनजना युवाले माछा खान दिने आफूहरुसँग जान भने । अबोध बालिका गुडिया उनीहरुको कुरा पत्याएर पछिपछि लागेर गइन् ।

तर, माछा खान दिने लोभ देखाएका ती युवाहरुले अबोध बालिकालाई नै शिकार बनाए । तीनजनाले सामूहिकरुपमा बलात्कार गरी बालिकालाई रगताम्य अवस्थामा छाडेर भागे ।

उठेर हिँड्नै नसक्ने अवस्थामा रहेकी गुडिया धेरै समयपछि त्रसित अवस्थामा घर पुगिन् र बाबु–आमाको डरले घरपछाडि लुकेर बसिन् ।

साँझसम्म छोरी घर नआएपछि बाबु लालबहादुरको पनि हंसले ठाउँ छाड्यो र उनी छोरी खोज्न बजारतिर निस्किए । पछि छोरी घरपछाडि रक्ताम्य अवस्थामा भेटिइन् ।

तत्कालै उनलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज पु¥याइयो । त्यहाँ राम्रो उपचार नपाएपछि लालबहादुरले गत आइतबार रक्षा नेपालको सहयोगमा राजधानीको ग्रीनसिटी अस्पतालमा ल्याएका हुन् ।

ग्रीनसिटी अस्पतालले ती बालिकाको निःशुल्क उपचार गराइरहेको छ । प्रसूतिरोग विशेषज्ञ डा. रुपा झाको टोलीले उनको उपचार गरिरहेको छ भने अवस्थामा केही सुधार हुँदै आएको छ ।

शरीरभरि चोट र नीला डाम रहेको अवस्थामा गुडिया अस्पताल आइपुगेको डा. रुपा झाले बताइन् ।

बालिकालाई मानसिकरुपमा पनि निकै असर पुगेको चिकित्सकहरुले बताएका छन् ।

केटा मान्छे देख्नेबित्तिकै डराउने र आफूलाई के भएको हो भन्ने सम्झने शक्ति नै नरहेको डा. झाले बताइन् ।

ग्रीनसिटी अस्पतालले गुडियाको निःशुल्क उपचारमात्रै गरेको छैन, सहयोगका लागि हिमालयन बैंकमा खातासमेत खोलेर उनलाई सहयोग गरिदिन आग्रह गरेको छ ।

बलात्कारमा संलग्न तीनजनामध्ये अहिलेसम्म एकजनामात्रै पक्राउ परेका छन् । अरु दुईजना अझैपनि फरार नै रहेका छन् ।

भिडियो हेर्नुहोस्