१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


महराद्वारा सभामुखमा उम्मेदवारी दर्ता, कांग्रेसले उम्मेदवारी नदिने


0
Shares

संघीय संसद् भवन नयाँबानेश्वरमा पुगेर महराले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका देव गुरुङको समर्थनमा महराले उम्मेदवारी दर्ता गराएका हुन् । सभामुख चयनका लागि शनिबार दिउँसो १ बजे मतदान हुने कार्यतालिका छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सभामुखमा उम्मेदवारी नदिने भएको छ । सभामुख सबैको साझा हुने भएकाले आफ्नो दलले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसले जनाएको छ । सभामुखका लागि उम्मेदवारी दर्ता गर्ने समय आज दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।

प्रतिनिधिसभा कार्यसञ्चालनको अन्तरिम विधिअनुसार एकमात्र मनोनयन परे पनि प्रस्ताव निर्णायार्थ पेश हुनेछ । एक भन्दा बढी प्रस्ताव परेमा प्रतिनिधिसभामा मत विभाजन हुनेछ ।

प्रतिनिधिसभाको हालको अंक गणितअनुसार सभामुखमा निर्वाचित हुन सभाको बहुमत अर्थात् कम्तिमा १३८ मत आवश्यक पर्नेछ । प्रतिनिधिसभामा २७५ सदस्य छन् ।

वाम गठबन्धनबीच प्रतिनिधिसभाको सभामुख माओवादी केन्द्रबाट र राष्ट्रियसभाको अध्यक्ष एमालेबाट हुने सहमति भएको थियो । सोही सहमतिअनुसार माओवादी केन्द्रले सभामुखमा उम्मेदवारी दिएको हो । गठबन्धनबीच रहेको अंक गणितअनुसार सभामुखमा गठबन्धनका उम्मेदवारको जित निश्चित प्रायः छ ।