२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपालले अफगानिस्तानलाई दियो १९५ रनको चुनौती


0
Shares

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई जितका लागि १९५ रनको लक्ष्य दिएको छ ।

नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १९४ रन बनाएको हो ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ७५ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले ३२ रन बनाए भने ज्ञानेन्द्र मल्ल र आरिफ शेखले समान २३/२३ रन जोडे । अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक ४, रसिद खानले ३ तथा शापूर जर्दानले २ विकेट लिए ।

प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन् ।

प्रतियोगितामा नेपाल यसअघि जिम्बाब्वे र स्कटल्यान्डसँग पराजित हुँदा अफगानिस्तानले जिम्बाब्वे, स्कटल्यान्ड र हङकङसँग खेलेका तीनओटै खेलमा पराजय व्यहोरेको थियो ।

दुवै टोलीलाई ‘सुपर सिक्स’ चरणमा पुग्ने सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब छ ।

एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान अहिलेसम्म सातपटक भिडेका छन् । अफगानिस्तान ६ खेलमा र नेपाल एउटा खेलमा विजयी भएको छ ।

प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन स्थान हासिल गर्ने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसबाट शीर्ष दुई टोली विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।