
काठमाडौं, फागुन २८ । राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता गरिंदै छ ।
संघीय संसद् सचिवालयले राष्ट्रियसभाको उम्मेदवार बन्न चाहनेलाई आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिएको छ ।
संसद् भवन नयाँबानेश्वरमा उम्मेदवारी दर्ता गर्न सकिने सचिवालयले जनाएको छ ।
उम्मेदवारहरुको अन्तिम नामावली आजै दिउँसो साढे १ बजे प्रकाशित गरिने भएको छ । फागुन ३० गते राष्ट्रियसभाको अध्यक्षको चुनाव हुँदै छ ।
प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ । एमालेका तर्फबाट उम्मेदवार बन्नेको जित सुनिश्चित जस्तै छ ।
यसैबीच सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले भने भोट हाल्न नपाउने भएका छन् ।
उनीहरुको शपथअघि नै मतदाताको अन्तिम नामावली सार्वजनिक भइसकेकाले थपघट गर्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २÷२ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्