२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बझाङका दृष्टिविहीनहरुको बढ्यो आत्मविश्वास, जीवनमा आयो परिवर्तन


0
Shares

डीबी विष्ट/ईमेज:
बझाङ, फागुन २९ । केही वर्षअघिसम्म समाजमा अपहेलित भएर जिवन गुजारा गरिरहेका बझाङका दृष्टिविहीनहरुको जीवनमा अहिले परिवर्तन आउन थालेको छ ।

दृष्टिविहीन छात्रवासमा बसेर शिक्षा आर्जन गर्न थालेपछि उनीहरुको आत्मविश्वाससमेत बढ्दै गएको छ ।

बझाङ जिल्लामा रहेका दृष्टिविहीनहरुको आत्मविश्वास बढ्दै गएको हो । समाज तथा परिवारले वास्ता नगर्ने भएका कारण विगतका बर्षहरुमा उनीहरु कमजोर थिए ।

समाजका जाने बुझेका ब्यक्तिहरुले नै अपहेलना गर्दा आफुहरुलाई दुख लाग्ने गरेको उनीहरुले बताउँदै आएका थिए ।

तर पछिल्लो समय छविस पाथीभेरा गाँउपालिकामा दृष्टिविहीन विषेश कक्षा संचालन भए पछि यहाँका दृष्टिविहीन पनि शिक्षित बनेका हुन् ।

आँखा नदेखे पनि उनीहरुका ठुला सपना छन् । झण्डै ४ सय ५० भन्दा बढी अध्ययन गर्ने बाँठपाली माध्यामिक बिद्यालय छविसमा गत बर्षको बार्षिक परिक्षामा कक्षा ५ बाट ६ मा जाँदा दृष्टिविहीन नै छात्र प्रथम भएका थिए ।

दृष्टिविहीनका लागि भनेर बिद्यालयले छात्रबासमै बसेर शिक्षा आर्जन गर्ने व्यवस्था मिलाईदिएपछि त उनिहरु झनै उत्साहित बनेका हुन् ।

दृष्टिविहीन छात्र छात्राहरु संगै बस्ने, संगै खाने भए पछि आफूहरुलार्ई रमाईलो लाग्ने गरेको उनिहरु बताउँछन् ।

समाजले दृष्टिविहीन तथा अपाङ्गलाई हेप्ने भएका कारण अहिले गाँउ घर समाज भन्दा छात्र बासमा नै रमाईलो लाग्ने उनिहरु बताउँछन् ।

सबै दृष्टिविहीन सँगै बस्ने र कसैले कसैलाई अपहेलना नगर्ने, एउटाको दुख अर्कोेले बुझ्ने हुँदा दृष्टिविहीन बालबालिकाले घरभन्दा छात्रबासमै रमाइलो मान्ने गरेको स्थानीय दृष्टिविहीन शिक्षिका कमला जप्रेल बताउँछिन् ।

छात्रबासको ब्यावस्था भए पनि अपाङ्ग मैत्रि नहुँदा निकै समस्या उनिहरुले भोग्नु परेको छ ।

निजी क्षेत्रबाट नै संचालान भएको यस विद्यालयमा भौतिक अवस्था समेत नाजुक भएकै कारण दृष्टिविहीन विद्याथीहरुलाई निकै समस्या भएको शिक्षक कलक बहादुर चलाउने बताउँछन् ।

अहिले सुर्मा गाँउपालिका, बुंगल नगरपालिका, खप्तड छान्ना गाँउपालिका, दुर्गाथली गाँउपालिकालगायतका क्षेत्रहरुबाट १४ जना दृष्टिबिहीन छात्र–छात्राहरु यस विद्यालयमा अध्यनरत छन् ।

स्थानीय गैर सरकारी संस्था युएमएन र प्रगतीशिल युवा समाजले सामान्य सहयोग गरे पनि अरु निकायले खासै चाँसो नदेखाएको दृष्टिविहीन बालबालिकाको गुनासो छ ।