२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विमान दुर्घटनामा परेर बाँचेका सनम शाक्यको बयान यस्तो छ (भिडियोसहित)


0
Shares

राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये कुरा गर्नसक्ने अवस्थामा रहेका घाइतेको स्मरण निकै कहालीलाग्दो छ ।

ललितपुर जिल्ला बालकुमारी घर भएका सनम शाक्य चार दिनअघि युएस बंगलाले आयोजना गरेको ‘कस्टुमर सक्सेस समिट’मा भाग लिन बंगलादेश गएका थिए ।

काठमाडौंमा ट्राभल एजेन्सी सन्चालन गरिरहेका सनमसँगै १४ ओटा ट्राभल एजेन्सीका साथीहरुकोसमेत कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रम सकिसकेपछि उनीहरुसँगै गएका दुईजना साथीहरु अघिल्लो दिन नेपाल फर्किएका थिए । सनमसहित १२ जना भने सोमबार सँगै नेपाल फर्किएका हुन् ।

बंगलादेशको स्थानीय समयअनुसार मध्याह्न १२ बजेर ३० मिनेट जाँदा उनीहरु जहाज चढेका थिए । बंगलादेशबाट उड्दा जहाजमा कुनै समस्या आएको थिएन ।

तर, काठमाडौंको आकाशमा आइसकेपछि भने अवतरण गर्नुअघि जहाज केही असन्तुलित भएकोजस्तो उनले महसुस गरेका थिए । जहाज ‘ल्यान्ड’ हुनुपर्ने विन्दुसमेत काटेर गइरहेको उनले देखिरहेका थिए ।

जहाज असामान्य हुँदै आकाशमा नै रोकिएको थियो र आकाशमा धेरै ट्राफिकका कारण यस्तो भएको होला भनेर यात्रीहरुले सोचिरहेका थिए ।

त्यसपछि केहीबेरमै जहाजको ह्वात्तै उचाइ घटाएको र सीधै अवतरण गराएको उनले महसुस गरेका थिए । जहाज ल्यान्ड भएपछि कोल्टिएको थियो ।

असामान्य महसुस गर्दै उनले पछाडि फर्केर हेर्दा धेरै यात्रीहरु थिचिएका थिए र एक किसिमले कोलाहल नै मच्चिइसकेको थियो । हेर्दाहेर्दै जहाजमा आगो लाग्न थाल्यो र धुवाँको मुस्लो फैलियो ।

अगाडिको सिटमा नै बसेका कारण उनका नजिकै रहेका तीनजना साथीले झ्याल फोडेर बाहिर निस्किए । सनम पनि उनीहरुसँगै बाहिर निस्किए ।

हाल काठमाडौको नर्भिक अस्पतालमा उपचार गराइरहेका सनमको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

सनमसँगै अस्पतालमा रहेकी उनकी श्रीमती सुमाञ्जली शाक्यले घटनामा परेर श्रीमान् बाँच्न सफल भएकोमा खुसी लागेको तर धेरैको ज्यान गएकोमा भने निकै दुःखी भएको बताइन् ।

जहाज दुर्घटनामा ४९ जनाको ज्यान गएको छ भने बाँच्न सफल २२ जनाको राजधानीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

भिडियो हेर्नुहोस्