२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


यसरी हुँदैछ एसइई परीक्षा (भिडियो)


0
Shares

परीक्षा नियन्त्रक कार्यालय सानोठिमीले परीक्षाका लागि सबै ठाउँमा उत्तरपुस्तिका पुर्‍याउनेदेखि जनशक्ति व्यवस्थापनको कामसमेत सकिएको जनाएको छ ।

यस वर्षको एसइई परीक्षामा ४ लाख ७५ हजार ५६६ जना विद्यार्थी सहभागी हुँदैछन् । जसमा एक्जाम्टेडतर्फ २४ हजार ५१ जना विद्यार्थी छन् ।

एसइई परीक्षाका लागि १ हजार ९५६ ओटा परीक्षा केन्द्र तोकिएका छन् । २५ विद्यार्थी बराबर एकजना परीक्षा निरीक्षकको व्यवस्था गरिएको छ ।

यस्तै, परीक्षा सन्चालन गर्न एक परीक्षा केन्द्र बराबर १५ जना सुरक्षाकर्मी खटिने परीक्षा नियन्त्रक अम्बिका रेग्मीले बताए ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नियमित र एक्जाम्टेडतर्फका विद्यार्थीका लागि फरक–फरक प्रश्नपत्र तयार पारेको छ ।

यस वर्ष पाठ्यक्रम परिवर्तन भएकाले नियमिततर्फका विद्यार्थीलाई नयाँ पाठ्यक्रमअनुसार र एक्जाम्टेड विद्यार्थीलाई पुरानै पाठ्यक्रमअनुसार प्रश्नपत्र तयार पारिएको हो ।

विद्यालय तहको पठनपाठनदेखि परीक्षाको जिम्मा स्थानीय तहलाई दिइएको भएपनि स्थानीय तहमा भौतिक पूर्वाधारलगायतका तयारी नभएकाले यस वर्ष केन्द्रबाटै परीक्षा सन्चालन हुन लागेको हो ।

माध्यामिक तहसम्मको परीक्षा गराउने जिम्मा पाएको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सन्चालन गर्न नसकेका कारण परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नै सन्चालन गरेको हो ।

अब अर्को वर्षको एसइई परीक्षा भने प्रदेशस्तरबाट सन्चालन गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रक रेग्मीले बताए ।

एसइईको परीक्षालाई अनुशासित र मर्यादित बनाउन चिट चोराउने र चोर्न सहयोग गर्नेलाईसमेत कडा कारबाहीको तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

भिडियो हेर्नुहोस्