२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


दीपकराज जोशी कामु प्रधानन्यायाधीश, तोके इजलास


0
Shares

सर्वोच्च अदालतको वेबसाइटमा प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम हटाइ ‘कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी’ रहेको विवरण सार्वजनिक गरिएको छ ।

न्यायपरिषदका सचिव नृपध्वज निरौलाले बुधबार एक पत्र सार्वजनिक गर्दै प्रधानन्यायाधीश पराजुली गत साउन २१ गते नै पदमुक्त भएको जानकारी दिएका थिए । तर प्रधानन्यायाधीश पराजुलीले सो पत्र अवैधानिक रहेको र सचिवलाई त्यस्तो पत्र जारी गर्ने संवैधानिक अधिकार नभएको दावी गर्दै आएका थिए ।

सर्वोच्च अदालतले बिहीबार आफ्नो वेबसाइटमा प्रधानन्यायाधीश पराजुलीको विवरण हटाई ‘कायम मुकायम प्रधानन्यायाधीश’ का रुपमा वरिष्ठ न्यायाधीश जोशीको विवरण राखेको छ ।

सर्वोच्चको वेबसाइटका अनुसार कायम मुकायम प्रधानन्यायाधीशकै हैसियतमा जोशीले बिहीबारका लागि मुद्दाको पेशीसमेत तोकेका छन् । आज पेशी तोकिएका न्यायाधीशहरुमा यसअघि प्रधानन्यायाधीश पराजुलीको इजलास वहिष्कार गर्ने न्यायाधीश चोलेन्द्र शमशेर जवराको नाम पनि छ ।

पराजुलीको नाम पूर्वप्रधानन्यायाधीशको सूचीमा समेत राखिएको छैन ।