२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रधानमन्त्री ओली मन्त्रिपरिषद विस्तारको तयारीमा


0
Shares

प्रधानमन्त्रीमा नियुक्त भएको करिब एक महिनापछि ओलीले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने लगभग निश्चित भए पनि राष्ट्रिय जनता पार्टीसँग भने छलफल जारी छ ।

यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागबण्डा गरिसकेका छन् । तर फोरम र राजपा सरकारमा सहभागी हुने भए उनीहरुका लागि पनि केही मन्त्रालय छुट्याएर प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

मन्त्रालयको संख्या र कुन मन्त्रालय कुन पार्टीलाई दिने भन्ने निर्णय भने भएको छैन । यसबारेमा प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच हुने छलफलले टुंगो लगाउने छ । त्यसपछि मात्र फोरम र राजपासँग थप छलफल गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् ।

यसैबीच प्रधानमन्त्री ओलीले फोरम र राजपा सरकारका सहभागी हुने भए मन्त्रालयको संख्यासमेत केही थप गर्ने तयारी गरेका छन् । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री कार्यालयसहित बढीमा २५ मन्त्रालय राख्न सकिने छ । तर ओली सरकारले संघीय प्रशासनिक भार बढ्ने भएको भन्दै मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ वटा कायम गरेको थियो ।