
वाग्मती सफाइ महाअभियानको २५३औं हप्तामा शनिबार थापाथलीस्थित नदी क्षेत्रमा सफाइ गरी २० मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायत सामाजिक संस्थाको संस्थागत सहभागिता थियो ।
सफाइमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, ललितपुर महानगरपालिका वडा नम्बर–१० का अध्यक्ष लक्ष्मी व्यञ्जनकार, कलाकारद्वय मनोज गजुरेल र राजाराम पौडेल, गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष हंसराज ढकाललगायतको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती समितिकी सन्चालक सदस्य माला खरेलले जानकारी दिइन् ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको वि.सं. २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएको हो ।
महाअभियानपछि उपत्यकाका नदी र चक्रपथका साथै देशका प्रमुख सहरका ४५ स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान सुरु भएको छ ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१४औं हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
सफाइसँगै नदी किनारको बगैंचा पनि गोडमेल गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए ।
वाग्मतीको पानी फोहर भइ छोडिएका बाच्छा पानी खाएर मर्न थालेपछि समाजले धाराको पानीमा नून हालेर खुवाउने अभियानलाई पनि निरन्तरता दिएको छ । यो अभियानमा सहयोग गर्नेको संख्यासमेत बढिरहेको अभियानले जनाएको छ । यसअघि, यस क्षेत्रमा फोहर पानीका कारण हुर्किएका माछा पनि मरेका थिए ।
रुद्रमती सफाइको २०८औं हप्तामा रातोपुल–ज्ञानेश्वरसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
शुक्रबार यो सडकमा कालोपत्र गरिएकाले त्यसको धुलो पनि व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।
विष्णुमती सफाइको १७९औं हप्तामा टोखा नगरपालिका–१३ स्थित सिद्धेश्वर क्षेत्रमा सफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइकाक्रममा घरदैलो कार्यक्रमसमेत गरिएको अभियन्ता बिजेन्द्र लामाले जानकारी दिए ।
वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५८औं हप्तामा जनचेतनामूलक सफाइ अभियान सन्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताइन् ।
मीनभवन क्षेत्रको आलोकनगर सफाइको ४९औं हप्तामा शनिबार त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
चक्रपथ सफाइको ४९औं हप्तामा चक्रपथको नयाँबसपार्कदेखि ग्रीनसिटी अस्पतालसम्मको दायाँबायाँ सडक किनारमा सफाइ गरी २१ मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ््याउन खनिएको खाल्डो काम सकेर नपुरिँदा फोहर फाल्ने ठाउँ बनेको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिए ।
सफाइमा तीनओटै सुरक्षा निकाय, गायत्री परिवार, ग्रीनसिटी अस्पताललगायत संस्थाको सहभागिता थियो ।
चैत १० गते शनिबार ५०औं हप्ताको चक्रपथ सफाइ अभियान बसुन्धरास्थित ग्रीनसिटी अस्पताल परिसरमा गरिने टन्डनले जानकारी दिए ।
चक्रपथको बाफल खन्डको ३१औं हप्ताको सफाइमा चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले बताए ।
सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुँयालले ६ महिनासम्म बाफलचोकमा निःशुल्क पिउनेपानी सेवाको उद्घाटन गरे । रासस
प्रतिक्रिया दिनुहोस्