प्रत्येक वर्ष चैत्र कृष्णऔंसीका दिन मनाइने यो पर्वका अवसरमा शनिबार काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु, विभिन्न कूटनीतिक नियोगका प्रमुखलगायत अरु विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा नेपाली सेनाले घोडचढी प्रतियोगिता गर्नुका साथै साइकल दौड, घोडाका विभिन्न कला र अपराधमा–अनुसन्धानमा सहयोग पु¥याउँदै आएको कुकुरहरुको कला पनि प्रस्तुत् गरिएको थियो ।
समारोहमा विभिन्न प्रतियोगितामा विजयी भएकाहरुलाई राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गरिन् ।
परापूर्वकालदेखि उपत्यकाको मानवबस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडेजात्रा मनाउने गरेको पाइन्छ ।
अर्को किंवदन्तीअनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँवर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्णऔंसीमा घोडा कुदाएर अश्वयात्रा गरी नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो ।
घोडेजात्राको अघिल्लो दिन चैत्र कृष्ण चर्तुदशीलाई पिशाच चतुर्दशीकारुपमासमेत लिइन्छ । यसै अवसरमा ललितपुरको पाटनमा एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइन्छ ।









प्रतिक्रिया दिनुहोस्