
दुवै पार्टीले पार्टी एकतालाई अन्तिम टुंगो लगाउने गरी आन्तरिक तथा दुईपक्षीय तयारीलाई तीव्र पारेका छन् ।
सकेसम्म चैत महिनाभित्रै पार्टी एकतालाई निष्कर्षमा पुर्याउने गरी तयारी थालिएको छ ।
नेकपा माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले पनि चैत महिनाभित्रै पार्टी एकतालाई तार्किक निष्कर्षमा पुर्याउने गरी आवश्यक तयारी थाल्ने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा शनिबार बसेको बैठकले केही दिनभित्रै एकता संयोजन समितिको बैठक बस्ने र एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने निर्णयसमेत गरेको छ ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले पार्टी एकतालाई चाँडै टुंग्याउने गरी दुवै पार्टीले गृहकार्य अगाडि बढाएको जानकारी दिए ।
उनले आगामी साता एकता प्रक्रियालाई अन्तिम रुप दिने गरी छलफल अगाडि बढाइएको र सोहीअनुसार प्राविधिक एवं सैद्धान्तिक पाटोलाई अन्तिम चरणमा पुर्याइएको बताए ।
एमाले र माओवादी केन्द्रले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको वैशाख १० गतेका दिन पार्टी एकता घोषणा गर्ने बताउँदै आएका थिए । तर, सो समयसीमाभन्दाअगावै पार्टी एकता गर्ने गरी तयारी गरिएको छ ।
प्रदेश इन्चार्ज हेरफेर
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ ।
नयाँ जिम्मेवारीअनुसार प्रदेश नम्बर–१ मा राम कार्की, प्रदेश–२ मा विश्वनाथ साह, प्रदेश–३ मा हितमान शाक्य, प्रदेश–४ मा हितराज पाण्डे, प्रदेश–५ मा मणि थापा, प्रदेश–६ मा जनार्दन शर्मा र प्रदेश–७ मा लेखराज भट्टलाई जिम्मेवारी तोकिएको छ ।
प्रदेश नम्बर–१ का इन्चार्ज गोपाल किराँतीले पार्टी छोडेको, प्रदेश नम्बर–२ का मातृकाप्रसाद यादव, प्रदेश नम्बर–५ का वर्षमान पुन र प्रदेश नम्बर–६ का शक्ति बस्नेत मन्त्री बनेको र प्रदेश नम्बर–४ का देवप्रसाद गुरुङ संसदीय दलको प्रमुख सचेतक बनेका कारण जिम्मेवारीमा हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्