२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कपिलबस्तुका युवा साइकल चलाउन प्रेरित गर्दै


52
Shares

नेपालमा शारीरिक रूपले सक्रिय महिला पुरुषहरूमा असामयिक मृत्यु हुने सम्भावना बढी देखिएकाले साइक्लिङ गर्दा ३० प्रतिशतसम्म त्यस्तो जोखिम कम हुने र मुटु रोग, मधुमेह, क्यान्सर, स्ट्रोक आदिजस्ता दीर्घ रोगहरू विकसित हुने सम्भावनामा आधाभन्दा कम हुने हुँदा जिल्लाका दर्जनौं युवा सचेतना फैलाउदैं साइक्लिङमा उत्रिएका हुन् ।

मुटु रोग विशेषज्ञ चिकित्सकहरुले आफूकहाँ मुटु रोग उपचारका लागि आउने धेरैजसो बिरामीलाई नियमित साइकल चलाउने सल्लाह दिन्छन् । साइकल चलाउनुलाई ‘काममै व्यायाम’ बताउँछन् । शारीरिक रूपमा आफूलाई सक्रिय राख्न मर्निङ वाक, जगिङ, दौड, पौडी, पैदल हिँडाइ, ट्रेड मिलमा हिँडाइलगायत जुनसुकै तरिका अपनाउन सकिन्छ । तर, साइक्लिङको विशेष महत्त्व यसर्थ छ कि यो सबैका लागि उपलब्ध र उपयुक्त हुनुको साथै यसमा व्यायामसँगै कार्य सम्पादनसमेत हुन्छ ।

कपिलबस्तु नगरपलिकाका विकाश त्रिपाठीले कपिलबस्तुमा साइक्लिङको शुरुवात गर्दै अहिले दर्जनौं युवा महिला पुरुषहरुलाई यसमा जोडेको बताए ।

नियमित साईकल चलाउँदा मुटु र रक्त नलीसम्बन्धी स्वास्थ्य राम्रो हुने, शरीरको बोसोको स्तर कम हुने, जोर्नीको गतिशीलता बढ्ने, चिन्ता र उदासीपना कम हुने, शारीरिक र मानसिक स्वास्थ्य राम्रो बनाउने, मांसपेशीको शक्ति र लचिलोपन बढाउने, मोटोपना घटाउनुका साथै तौल नियन्त्रण गर्ने, तनावको स्तर घटाउने, हाड बलियो बनाउने र धेरै रोगबाट जोगाउने हुँदा साइक्लिङतर्फ लागेको नासीर गौरीले बताए ।

यस्तै जोर्नीको समस्या भएकाहरू, शारीरिक सन्तुलनको समस्या वा अति वृद्घबाहेक हरेक व्यक्तिले साइकल चलाउन सक्छन् । डाक्टरका अनुसार, मुटु रोगी, उच्च रक्तचाप भएकाहरू, मधुमेहका रोगी, हृदयाघात भइसकेकाहरू लगायत सबैखाले व्यक्तिले सुरक्षित तरिकाले साइकल चलाउन सक्ने हुँदा आफूहरु विभिन्न स्थानमा जागरुकता फैलाउँदै हिडेको सुचिता शाक्यले बताइन् ।

साइकल चलाउँदा शरीरका सबै मांसपेशीहरू सक्रियमात्र नभएर यसको उपयोगसमेत हुन्छ । यसअन्तर्गत हामीले प्याडल चलाउने भएकोले खुट्टाको मांसपेशी सबैभन्दा बढी सक्रिय हुन्छ । यतिमात्र नभई पेट, पिठ्युँ, हात लगायतका मांसपेशीहरूसमेत सक्रिय हुनुका साथै साइकल चलाउनुले सम्पूर्ण शरीरलाई शक्ति प्रदान हन्छ भने चिकित्सकहरुको भनाइ छ ।