Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


सबैभन्दा कम उचाइमा चौँरी पाल्न सफल सुरेश थकाली


0
Shares

अक्सर गरेर चार हजार मिटरभन्दा माथि पालिने चौँरी अहिले करीब दुई हजार मिटर उचाइमा राखेर पालेको मनाङ नासोङ–४ ओडारगाउँका चौँरीपालक सुरेश थकालीले बताए ।

बेमौसममा हिमपात हुने र हिउँले खाएर घाँस उत्पादन नहुने र हिमपातका कारण चौँरी मर्ने हुनाले विकल्पका रुपमा कम उचाइमा ल्याएर पालेको उनको भनाइ छ ।

विगत १० वर्षदेखि चौँरी पालन शुरु गरे पनि निकै कठिनाइका बाबजुद हाल आफू सफल भएको थकालीको भनाइ छ ।

हिमालको काखमा बस्ने चौँरी आफ्नै पाखापखेरामा पालेर आफ्नै हातले बनाएको दाना खुवाउँछन् सुरेस थकाली । प्रायः गरेर चार हजार मिटरभन्दा माथि रहने चौँरी दुई हजार मिटरमा राख्दा सहज त हुँदैन नै तर पनि आफूले जोखिम मोलेर भए पनि एउटा परीक्षण गरेको र सफल भएको उनको भनाइ छ ।

‘शुरु शुरुमा त बढी गर्मीका कारण चौँरी बिरामी परे, कति त मरे पनि तर हरेश खाइनँ,’ उनी भन्छन्, ‘मानिसले हरेश खानु हुन्न, कामले काम सिकाउँछ ।’

‘मैले शुरुमा रु १५ लाखमा १५ वटा चौँरीबाट पालन शुरु गरेको हो, त्यतिखेर १० वटा मरे, जसले हतोत्साहित पनि भएँ, तर मनमा आँट र विश्वासका साथ लागिरहेँ जसले अहिले सफल भएको छु,’ उनले भने । कक्षा १२ सम्म पढेका थकाली अहिले ३४ वर्षका भए । गरीब परिवारमा जन्मिएका थकालीले त्यसभन्दा माथि पढ्ने चाहना हुँदाहुँदै पनि पढ्न नपाएको गुनासो सुनाए ।

बिहान उठेदेखि चौँरीलाई दाना बनाउने र गोठमा जाने चौँरीलाई दाना खुवाउने उनको दैनिकी बनेको छ । उनी भन्छन्, ‘अहिले आफूसँगका युवा विदेशिएको अवस्थामा आफू गाउँमै बसेर केही उदाहरणीय काम गर्ने सोचले यो पेशा अँगालेको हुँ ।’

बाबु आमाले आफूलाई होटल व्यवसाय गर्न प्रोत्साहन गरेर केही समय त्यतातिर लागेपनि आफ्नो इच्छा पशुपालनमा भएकाले होटल व्यवसाय छोडेर चौँरीपालनमा लागेको उनले बताए ।

हिमालको काखमा रमाउने चौँरीलाई आफ्नै पाखा पखेरामा ल्याउने उनी एक सफल र उदाहरणीय व्यक्ति हुन् ।

नेपालमा कम उचाइमा चौँरी पाल्ने एकमात्र व्यवसायी सुरेश थकाली आफनो व्यवसायमा सफल भएका छन् ।

हाल उनीसँग ६५ वटा चौँरी छन् । उनी चौँरीको दूधबाट नौनी, छुर्पी, चिज, बनाउनाका साथै चौँरीको ऊन कातेर फेर्पा, राडीपाखी, नाम्लो, पेटीजस्ता सामग्री निर्माण गर्छन् ।

चौँरीका पुच्छर नेवारी समुदायलगायत अन्यले पनि धार्मिक कामका लागि प्रयोग गर्छन् । यस्ता सामग्री बिक्री वितरण गरी सम्पूर्ण खर्च कटाएर वर्षको रु पाँच, छ लाख आयआर्जन गर्ने गरेको उनको भनाइ छ ।

जलवायु परिवर्तनले हिमाली भेगमा बेमौसममा हिउँ पर्ने र चरीचरनको अभाव हुने भएकाले कम उचाइमा चौँरीलाई बानी लगाउन आफूले २,००० मिटर उचाइमा पालेको उनले बताए । अहिले उनीलगायत ओडारगाउँका अन्य चौँरीपालक किसानले उनको देखासिकी गर्न थालेका छन् ।

कसैले मासुका लागि मात्र पालेका छन् भने कसैले व्यावसायिक रुपमा पनि पाल्न थालेका छन् । ओडारगाउँमा हाल ३०० को हाराहारीमा चौँरी पालिएको जिल्ला कृषि कार्यालय, मनाङले जानकारी दिएको छ । (रासस)