
मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार प्रदेशसभामा सार्वजनिक गरेको स्थितिपत्रमा प्रदेश–५ को आर्थिक अवस्था निकै नाजुक देखिएको छ ।
सरकारले पहिलो प्राथमिकतामा राखेको कृषि क्षेत्र नै धाराशायी देखिएकाले समृद्ध प्रदेश निर्माणको योजनामा थप चुनौती देखिएको हो ।
कृषिभूमि मासिँदै गएको चुनौती थेग्ने जिम्मेवारी प्रदेश सरकारलाई भएको मुख्यमन्त्री पोखरेलले बताए ।
प्रदेशको ३८ लाख २० हजार जनसंख्या कृषिमा आवद्ध भएपनि त्यो वैज्ञानिक र व्यवसायिक नभएको उनको भनाइ छ ।
प्रदेशको कुल उत्पादनमा साढे ४५ प्रतिशत योगदान कृषिले दिएको छ । प्रदेशमा रहेको झन्डै २६ प्रतिशत गरिबी घटाउन स्थितिपत्रले जटिलता देखाएको छ ।
पर्यटनको गार्हस्थमा ठूलो योगदान नहुनु र कृषिभूमि मासिनुले आर्थिक सबलताका लागि प्रदेशलाई कठिन हुने देखिएको हो ।
कृषिभूमि मासेर गरिएको रियलस्टेट व्यापारले उत्पादनमा जम्मा ८ प्रतिशत योगदान दिएको छ । पर्यटनको योगदान निकै कम देखिएको छ ।
प्रदेशमा उद्योग र निर्माण क्षेत्रले पुर्याउने योगदानसमेत निकै कमजोर छ । निर्माण क्षेत्रले ५.८ र उद्योगले ५.२ प्रतिशतमात्रै योगदान पुर्याएका छन् ।
४४ लाख ५८ हजार जनसंख्या रहेको प्रदेश–५ धान र तेलहन उत्पादनमा तथा गाई–भैंसीको संख्यामा पहिलो, मकै र आलु उत्पादनमा दोस्रो र गाईपालन, दूध, मासु, माछा उत्पादनमा तेस्रो स्थानमा छ ।
यो प्रदेशमा वि.सं. २०७३ सम्म ११ हजार किलोमिटर सडक बनेको छ । तीनओटा विमानस्थल चालू अवस्थामा छन् भने दुईओटा निर्माणाधीन छन् ।
५ हजार ८०० विद्यालय रहेको यो प्रदेशको साक्षरता दर ५९ प्रतिशत छ ।
प्रदेश सरकारले नीति कार्यक्रममा एक वर्षभित्रै पूर्णसाक्षर बनाउने घोषणा गरेको छ ।
प्रदेशले राजश्व संकलनमा १२ प्रतिशत योगदान दिएको उल्लेख छ । २१ ओटा राष्ट्रिय गौरवका आयोजनामध्ये पाँचओटा प्रदेश–५ मा छन् ।
प्रतिक्रिया दिनुहोस्