
काठमाडौं, बैशाख ३ । आज सुरक्षित मातृत्व दिवस । विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
नेपालले मातृशिशु स्वास्थ्यमा पछिल्ला वर्षमा राम्रो प्रगति गरेपनि अझै वर्षेनी करीब तीन लाख गर्भवतीले स्वास्थ्य संस्थाबाहिरै स्वास्थ्यकर्मीको सहयोगविना बच्चा जन्माउने गरेको सरकारी तथ्यांक छ ।
मुलुकमा अझै पनि २० हजार तालिम प्राप्त प्रसूति गराउने स्वास्थ्यकर्मीको आवश्यकता छ भने अहिले ८ हजार ६ सय मात्रै कार्यरत छन् ।
यद्यपी, दुई दशकयता दक्ष स्वास्थ्यकर्मीबाट महिलाले गर्भवती सेवा लिने क्रम बढेको छ ।
२०७३ साउनदेखि ०७४ असारसम्म करीब तीन लाख गर्भवती महिलाले असुरक्षित रुपमा बच्चा जन्माएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
देशभर रहेका ५१ हजारभन्दा बढी महिला स्वयंसेविका नै नेपाली महिलाका स्वास्थ्य शिक्षा लिने पहिलो सम्पर्क बिन्दू हुन् ।
३ हजार २ सय जिल्ला अस्पताल र त्यसभन्दा तलका स्वास्थ्य संस्थामा प्रसूति गराउने दक्ष जनशक्ति छ ।
तालिम प्राप्त एक स्वास्थ्यकर्मीको भागमा ७५ गर्भवती महिला पर्ने गरेको तथ्यांक छ ।
दुर्गमका कतिपय स्वास्थ्य संस्थामा प्रसूति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा अकालमै ज्यान गुमाउनु परेको तीतो यथार्थ छ ।
नेपाल जानसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ ले भने सन् २००६ मा प्रतिहजार जीवित जन्ममा ३३ जना रहेको नवजात शिशु मृत्युदर अहिले २१ मा झरेको देखाएको छ ।
सहस्राब्दी विकास लक्ष्य पूरा गर्न २१ लाई १७ मा झार्नुपर्ने चुनौति कायमै छ । नेपालमा प्रतिवर्ष ७ लाख ५८ हजारको हाराहारीमा महिला गर्भवती हुने अनुमान छ ।
यसमध्ये करीब १० प्रतिशतले गर्भपतन गराउने वा गर्भ तुहेर जानेजस्ता समस्या छ ।
गर्भवती भएको अवस्थामा सम्बन्धित महिलाले कम्तीमा चारपटक आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ । प्रसूति हुन समयमै स्वास्थ्य संस्थामा जान प्रोत्साहित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्