
बिराज रोस्यारा/ ईमेज:
कैलाली, बैशाख ४ । कैलालीको अत्तरियामा सुदूरपश्चिमकै पहिलो कोल्ड स्टोर निर्माण गर्न सुरु गरिएको छ ।
गोदावरी नगरपालिका, रिज्म् एफ्पी र ब्यापारीहरुको लगानीमा कोल्ड स्टोर निर्माण गर्न लागिएको हो । कोल्ड स्टोर निर्माणपछि यस क्षेत्रका किसान र व्यापारीलाई सहज हुने बताइएको छ ।
तरकारी र फलफूल भण्डारनका लागि समस्या रहेको प्रदेश नम्बर ७ मा एक करोड ६१ लाख रुपैयाँको लागतमा कोल्ड स्टोर निर्माण भईरहेको हो ।
अत्तरिया कृषि उपज थोक बजार समितिले कैलालीको अत्तरियामा कोल्ड स्टोर निर्माण गर्न लागेको हो । उक्त कोल्ड स्टोरमा २ सय ९४ मेट्रिक टन तरकारी र फलफूल भण्डारन गर्न सकिने समितिले जनाएको छ ।
केहि महिना भित्रै कोल्ड स्टोर निर्माणको कार्य सम्पन्न हुने समितिले जनाएको छ ।
यो प्रदेशमा तरकारी तथा फलफूल भण्डारनका लागि पहिलो कोल्ड स्टोर निर्माणमा रिज्म् एफ्पीको ४२ लाख र गोदावरी नगरपालिकाको ४० लाख र बाँकी ब्यापारीको लगानीमा निमार्ण भईरहेको समितिका संयोजक नन्दलाल भट्टले बताए ।
कोल्ड स्टोर निर्माणले प्रदेशको विभिन्न जिल्लाका किसान, व्यापारी र उपभोक्तालाई फाइदा हुने कृषि उपज थोक बजारमा ब्यापार गर्दै आएका केशव पन्तले बताए ।
उनले कोल्ड स्टोर नहुँदा यस क्षेत्रमा उत्पादन भईरहेको तरकारी किसानका खेतमै कुहिरेको बताए ।
प्रदेश नम्बर ७ को कञ्चनपुरमा आलु भण्डारन गर्ने कोल्ड स्टोर रहे पनि तरकारी तथा फलफूल राख्न सकिने गरी अहिलेसम्म एउटा पनि कोल्ड स्टोर छैन ।
यस्तो कोल्ड स्टोर नहुँदा किसानले उत्पादन गरेको तरकारी सुरक्षित गर्न समस्या रहेको छ ।
ब्यापारीहरुले काठमाडौंबाट ल्याएको फलफुल स्टोर नुहँदा उपभोक्तासम्म नपुग्दै कुहिने गरेको थोक ब्यापारी हरी दत्त भट्टले बताए ।
तरकारी तथा फलफुल बर्षेनी कुहिने समस्याबाट हैरान बनेका किसानहरु कोल्ड स्टोर निमार्ण हुने भएपछि खुसि भएका छन् ।
उनीहरुले सरकारसँग किसानको सजिलोका लागि बिभिन्न जिल्ला कोल्डस्टोर निमार्णको माग समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्