
तस्वीर : रासस
प्रेस चौतारी र प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले तयारी पुरा नभएकाले वैशाख ९ गते पार्टी एकीकरण हुने सम्भावना टरेको बताए ।
उनले भने, ‘माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि हिजोबाट मात्रै गम्भिर छलफल शुरु भएकाले ९ गते नै सबै टुंगिदैन कि भन्ने हाम्रो ठम्याइ हो ।’
उनले संचारमाध्यममा आएजस्तै चुनाव चिन्ह, सिद्धान्त र पदका विषयमा टुंगो लागिनसकेको स्पष्ट पारे ।
उनले एकीकृत पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने, निर्वाचन चिन्ह के राख्ने र एकताको मोडालिटी के हुने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच भोलि नै गम्भिर रुपमा छलफल हुने बताए । पार्टी एकता हुँदैन कि भन्ने आशंका नगर्न सबैलाई आग्रह गर्दै उनले वैशाख महिनाभित्रै एकता टुंगिने दाबी गरे ।
अर्को एक प्रसंगमा उनले प्रधानमन्त्री ओलीमै मन्त्रिपरिषद निर्णयको सर्वाधिकार भए पनि समन्वय नमिलेकोले माओवादीका मन्त्रीहरुले कार्यशैलीमा प्रश्न उठाएको बताए ।
संयुक्त सरकार भएकाले आन्तरिक सल्लाहबाट मात्रै अघि बढ्दा उपयुक्त हुने सुझाव आफूले प्रधानमन्त्रीलाई दिएको उनले स्पष्ट पारे ।
माओवादी अध्यक्ष दाहाल विद्यार्थी भर्ना अभियानका लागि चितवन आएका हुन् । उनले चितवनको मेघौलीस्थित साझापुर माध्यामिक विद्यालयमा अल्पसंख्यक समुदायका दुई बालबालिकालाई भर्ना गर्ने कार्यक्रम छ ।
यसैबीच सोही पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको सिन्डिकेट पुनः ब्युँतिन नसक्ने दावी गरे । उनले अवरोध गर्ने व्यवसायीका गाडी कब्जामा लिएर भए पनि जनतालाई सहजता प्रदान गर्ने बताए ।
देशका अन्य क्षेत्रमा पनि सिन्डिकेट भएको उल्लेख गर्दै गृहमन्त्री थापाले भने, ‘यो शुभारम्भ हो, क्रमशः अन्य क्षेत्रमा पनि जान्छौं ।’
प्रतिक्रिया दिनुहोस्