
१० हजारमा एकजनामा देखिने हिमोफिलिया रोगबाट नेपालमा पनि धेरै प्रभावित रहेका छन् ।
जोर्नीलगायत शरीरका विभिन्न भागहरु सुन्निदै जाने र विस्तारै नीलो हुँदै रक्तश्राव हुने, सानो चोटपटक लाग्दा पनि लामो समयसम्म रक्तश्राव नरोकिनेजस्ता लक्षणहरु देखिन थालेको छ भने विचार पुर्याउनुहोस्, यो हिमोफिलिया रोगको लक्षण हुनसक्छ ।
यो जन्मजात रोग हो र यो रोगबाट विशेषगरी पुरुषहरु प्रभावित हुने गरेका छन् ।
हिमोफिलिया रोगका कारण नेपालमा करिब तीन हजार व्यक्ति प्रभावित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
हिमोफिलियामा शरीरबाट बगिरहेको रगत सामान्यरूपले जम्न पाउँदैन । रगत जम्ने प्रक्रिया निकै ढिलो हुन्छ । रगत बग्न छिटो बन्द नहुँदा चोट लागे वा दुर्घटनामा परे पीडितको ज्यानै जानसक्छ ।
यो रोगको कारक हो, रगतमा अत्यावश्यक एउटा प्रोटिनको कमी । जसलाई ‘क्लोटिङ फयाक्टर’ अर्थात् थ्राम्बोप्लास्टिन भनिन्छ ।
हिमोफिलिया भएका बिरामीको उपचार भनेको नै रगत बग्न थाल्यो भने प्लाज्मा वा फ्याक्टर दिएर उपचार गर्नुपर्छ । फ्याक्टर भनेको बगिरहेको रगतलाई बन्द गर्नु हो ।
नेपालमा हिमोफिलिया रोगको पहिचान काठमाडौंको सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र टेकुस्थित राष्ट्रिय प्रयोगशालामा हुने गरेको छ । जसका कारण बिरामीहरु उपचारका लागि काठमाडौंकेन्द्रित हुन बाध्य छन् ।
सरकारले हिमोफिलियाका बिरामीलाई सहयोग नगर्दा उनीहरु मारमा परेका छन् ।
अहिले दातृनिकायको सहयोगमा अमेरिका र क्यानडाबाट रगत बन्द गराउने फ्याक्टर ल्याइ उपचार गर्नुपरेको हेमाटोलिस्ट डा. विशेष पौडेलले बताए ।
यस्तै, हिमोफिलिया भएकालाई मात्रा मिलाएर फ्याक्टर दिनुपर्ने हुन्छ । तर, जथाभावीरुपमा फ्याक्टरको प्रयोग गर्दा भने जोखिमको सम्भावना उच्च हुन्छ ।
हिमोफिलिया रोगको समयमा नै उपचार भएन भने बिरामी अपांग हुनुका साथै टाउको, पेटमा हुने आन्तरिक रक्तश्राव तथा शल्यक्रिया गर्दा अधिक रक्तश्रावका कारण मृत्युसमेत हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस्