२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जुकाबाट हुन थाल्यो उपचार, विभिन्न रोगमा यसरी गरिन्छ उपचार


0
Shares

आयुर्वेदमा ‘जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट हालसम्म दुई जनाको उपचार गरिएको छ । लिच थेरापीबाट केही दिनभित्रै जटिलखालका अन्य शारीरिक समस्याको समेत उपचार गरिने विशेषज्ञहरूले बताएका छन् ।

आचार्य सुश्रुतले शताब्दियौं पहिले क्यान्सर, सिस्ट, हर्पिज, रक्तदोष, घाउलगायत जटिल शारीरिक समस्या भएका बिरामीमा जलौकावचारण कर्मलाई उपयुक्त ठहर्‍याएका थिए ।

ईसापूर्व ५टौं शताब्दीमा भारतको काशीमा जन्मिएका सुश्रुत शल्यचिकित्साका जनक मानिन्छन् ।

लिच थेरापीका माध्यमबाट एक्जिमा, सोराइसिस, एलोपेसिया (तालु खुइलिनु), हरपिज जोस्टर, भेरिकोज भेन्स, डाइबिटिज वन्ड (मधुमेहका घाउ), वोइल्स एन्ड एवसेस, रुमेटिक डिजिज, अस्टियोअर्थराइटिस, रुमेटोयड अर्थराइटिस, सेल्युलाइटिस, सियाटिका, इम्फलामेट्रिक रियाक्सन, ब्लड प्युरिफिकेसन, हाइपरटेन्सन, थ्रम्बोसिस (ब्लड क्लाउट) लगायत रोगको उपचार गर्न सकिन्छ ।

‘वनारस हिन्दु युनिभर्सिटीको सहयोगमा हामीले उपचारका लागि उपयोग गर्न २५ वटा जुका ल्याएका छौं, यो संख्या बढाउँदै जान्छौं,’ केन्द्रका कार्यकारी निर्देशक डा. सिद्धार्थ ठाकुरले भने, ‘यसअघि नेपालमा लिच थेरापी उपचार पद्धति थिएन ।’

चिकित्सकका अनुसार यो उपचारमा प्रयोग गरिने एउटा जुकाले बिरामीको समस्या भएको ठाउँबाट पाँचदेखि १० मिलिलिटर अशुद्ध रगत सेवन गर्न सक्छ । रगत चुस्ने क्रममा जुकाको मुखबाट निस्किने श्रावमा हिरुडिन नामक इन्जाइम हुन्छ । जुकाको र्‍यालमा एक सयभन्दा बढी यस्ता तत्त्व हुन्छन्, जसले रगतलाई शुद्ध र पातलो बनाउँछ ।

डा. ठाकुरका अनुसार जुकाले जमेको रगत निकालेर सामान्य रक्तसञ्चार हुन सघाउँछ, तन्तु र मासु कुहिन दिँदैन । –कान्तिपुर दैनिकबाट