२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


महिलाजति चोरबाटो विदेश, विदेश पुगेपछि यस्तो कष्ट


0
Shares

धनगढी, बैशाख ८ । कैलाली कनरीकी २१ वर्षीया लक्ष्मी चौधरी चार वर्षअघि अवैध बाटो भएर घरेलु कामदारका रूपमा कुवेत पुगिन् । त्यहाँ उनले सोचेजस्तो काम र दाम पाउन सकिनन् । दुई वर्ष नबित्दै फर्किइन् ।

जाँदाजस्तो फर्किन सजिलो भएन, लक्ष्मीलाई । ‘घर फर्कन पाउँछु भन्ने आशा मरिसकेको थियो ।

मालिकका घरमा जेलसजाय भुक्तान गरिरहेको कैदीजस्ती भएकी थिए,’ उनी भन्छिन्, ‘अनेक जुक्ति लगाई मालिकलाई फकाएर धन्न घर फर्किन पाएँ ।’

भारतको दम्बोली । हो, त्यही ठाउँमा खरिद–बिक्री भएकी थिइन्, लक्ष्मी । ‘मालिक’ ले त्यही ठाउँबाट उनलाई जहाजमा राखेर आफ्नो देश कुवेत लगे ।

त्यहाँ करिब दुई वर्ष बन्धकझैं बस्नुपरेको उनले बताइन् । ‘बिहान ७ देखि राति १२ बजे काम गर्नुपथ्र्यो,’ उनले सम्झिइन्, ‘भर पेट खान पनि दिन्थेनन्, मालिकले आफूले छाडेको जुठो खाना दिन्थ्यो ।’ बच्चाको स्याहार गर्ने मूल काम भए पनि घर सफाइदेखि भाँडासम्म माझ्नुपथ्र्यो उनले ।

भारतको बाटो अवैध प्रक्रियाबाट वैदेशिक रोजगारीमा पुगेर कष्ट झेल्ने लक्ष्मी एक्ली होइनन् । पछिल्लो समय अरू थुप्रै चेली भारतीय बाटो भएर खाडी मुलुक पुग्ने गरेका छन् ।

त्यहाँ सोचेअनुसारको काम नपाएर दुःख मात्र झेल्दैनन्, श्रम तथा शारीरिक शोषणमा समेत पर्ने गरेका छन् ।

गैरकानुनी प्रक्रियाबाट विदेश पुगेर समस्यामा परेका थुप्रै महिलालाई उद्धार गरिरहेको सुरक्षित आप्रवासन परियोजनाका जिल्ला संयोजक पञ्चराम चौधरीले बताए ।

उनले कैलालीबाट गैरकानुनी तरिकाले विदेश पुगेका महिलाको संख्या ठूलो भएको बताए ।

सुरक्षित आप्रावासन परामर्श तथा सूचना केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष ०६९/०७० देखि हालसम्म कैलालीबाट वैदेशिक रोजगारीका लागि राहदानी लिने महिलाको संख्या ५ हजार ८६ छ ।

तीमध्ये ७ सय ७ जनाले मात्रै श्रमस्वीकृति लिएको देखिन्छ । यही अवधिमा कैलालीबाट ४१ हजार ४ सय ५७ पुरुषले राहदानी लिएका छन ।

तीमध्ये ३५ हजार ५ सय ६१ जना अर्थात् ८५ प्रतिशतले श्रमस्वीकृति लिएका छन् । महिलाका हकमा श्रमस्वीकृति लिने १३ प्रतिशत मात्र छन् ।

‘जबकि राहदानी बनाएर घरमै बसेका महिलाको संख्या त्यति धेरै छैन,’ सूचना केन्द्रकी परामर्शदाता लक्ष्मीदेवी चौधरीले भनिन्, ‘राहदानी लिएका महिलालाई विभिन्न स्रोतबाट खोजेर सम्पर्क गर्दा १० मा एक जना मात्रै भेटिने गरेका छन् ।’ -कान्तिपुर दैनिकबाट