
काठमाडौं, बैशाख ९ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने कार्यसूची रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव राख्ने सम्भावना रहेको बताइएको छ ।
कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री सभापतिले मनोनित गर्ने प्रावधान छ ।
महाधिवेशन भएको २ महिनाभित्र पार्टी सभापतिले पदाधिकारी मनोनित गर्नुपर्ने भए पनि देउवाले २ वर्ष गुज्रिनै लाग्दासमेत गरेका छैनन ।
नेतृत्वको सुस्त कार्यशैलीको पार्टीभित्रै चर्को आलोचना भइरहेका बेला सभापति देउवाले पदाधिकारी मनोनयनको तयारी गरेका हुन ।
निर्वाचन समीक्षा र समसामयिक राजनीतिबारे धारणा तय गर्न गत चैत ९ गतेबाट कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो ।
बैठककै क्रममा चैत १६ गते पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको निधन भएपछि बैठक स्थगित गरिएको थियो ।
त्यही स्थगित बैठक शुक्रबार बस्ने भनिए पनि अधिकांश केन्द्रीय सदस्यहरु काठमाडौं बाहिर भएको भन्दै आजका लागि सारिएको हो ।
प्रतिक्रिया दिनुहोस्