Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


१५ वर्षीय बालकले बनाए ड्रोन


0
Shares

प्रकाश मैनाली

सर्लाही, मंसिर २ । हरिवन नगरपालिका परिसरभित्र १५ वर्षीय एक बालकले ड्रोन उडाएर सबैलाई चकित तुल्याएका छन् । हरिवन–४ सासापुर घर भएका निश्चल पौडेलले एक कार्यक्रमबीच आफैंले निर्माण गरेको ड्रोन उडाएका हुन् ।

नगरप्रमुख गणेशप्रसाद प्रसाईले बालक निश्चलको प्रतिभाबाट आफूहरु चकित भएको बताए । ‘हाम्रो नगरमै ठुलो प्रतिभा रहेछ, यो हाम्रो गौरवको विषय पनि हो,’ उनले भने, ‘नगरपालिकाले वैज्ञानिक बन्न अग्रसर भएका प्रतिभालाई सघाउन सक्दो सहयोग उपलब्ध गराउँछ ।’

निश्चललाई आफ्नो प्रतिभामा निखार ल्याउन आवश्यक पर्ने सहयोग नगरपालिकाले जुटाउने उनको भनाइ थियो । नगरपालिकाको स्रोत र साधनले नभ्याउने अवस्थामा सम्बन्धित निकायसँग कुरा गरेर सहयोग उपलब्ध गराउन आफूहरु तयार रहेको उनले बताए ।

लालबन्दी–२, जुटपानीस्थित नवजीवन विध्याश्रममा कक्षा ९ मा अध्यनरत निश्चलले ड्रोन निर्माणमा प्रयोग हुने सामानमध्ये १० प्रतिशत आफैंले निर्माण गरेका हुन् भने बाँकी सामान गाउँघरमा खेर गएका पुराना सामाग्री प्रयोग गरेका हुन् ।

सहयोग पाएर आफू खुशी भएको र आगामी दिनमा पनि यस्तै सहयोग तथा हौसला मिले प्रविधिको क्षेत्रमा यस्तै थप काम गर्दै जाने निश्चलले बताए । 

प्रविधिकै क्षेत्रमा उच्च शिक्षा हासिल गरी यही क्षेत्रमा योगदान दिने लक्ष्य रहेको उनको भनाइ छ ।

बाल प्रतिभाको प्रोत्सानस्वरुप हरिवन–११ का वडा अध्यक्ष महेबुब शेख रेजाले एक महिनाको तलब बराबर २२ हजार रुपैयाँ प्रदान गरेका छन । त्यस्तै हरिवन–११ कै वडा सदस्य सुकदेव कार्कीले पनि ६ हजार रुपैयाँ प्रदान गरेका छन् ।