
कल्पना बोहरा/
अछाम, वैशाख १० । खप्तड पर्यटन क्षेत्रलाई मध्यनजर गरी अछामको साँफेबगर नगरपालिका–१२ मा ‘एस नेपाल वेस्ट’ कार्यक्रमको सहयोगमा स्थापना भएका ५ ओटा होमस्टे सञ्चालकहरु पर्यटको स्वागत सत्कार गर्न आतुर छन् ।
खप्तड पर्यटन क्षेत्रको विकास गरि आर्थिक स्थितिमा सुधार गर्ने उद्देश्यले निर्माण गरिएका विश्राम गृहमा पर्यटकलाई स्थानीयस्तरमा पाईने विभिन्न खानेकुरा खुवाउने तयारी छ ।
योसँगै खप्तड पर्यटन क्षेत्रको विकासका लागि सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
स्थानीयस्तरमै पाईने विभिन्न खाना परिकारहरु पर्यटकहरुलाई खुवाउन आफू पर्यटकहरुको पखाईमा रहेको स्थानीय महिला गौरी कडायतको भनाइ छ ।
पर्यटन प्रवर्द्धनका लागि होम स्टे स्थापना गरे पनि बाहिरबाट आउने पाहुनालाई राम्रो सेवा सुविधा दिन सडक र दोभाषेको आवश्यकता रहेको स्थानीय अगुवा हस्तबहादुर कडायतको भनाइ छ ।
खप्तड पर्यटन क्षेत्र विकास समितिलाई सरकारले बर्षेनि केही बजेट विनियोजन गर्ने गरेको र विनियोजित बजेट खर्च गर्न अनुमति नदिने गरेको खप्तड पर्यटन विकास बोर्डका सदस्य अंग कडायतको भनाइ छ । खप्तड क्षेत्र आसपासका नागरिकलाई सिपमूलक तालिम आयोजना गर्ने योजना भए पनि करिब डेढ बर्ष भईसक्दा पनि समितिको बैठक नै बस्न नसकेको र अहिले खप्तड कार्यकारीविहीन रहेको उनले बताए ।
औसतमा खप्तड पर्यटकीय क्षेत्रमा दैनिक १० जना पर्यटकहरु गईरहने भए पनि अछामीले ती पर्यटकहरुलाई देख्न नै नपाउने विडम्बना रहेको खप्तड पर्यटन बोर्डका पूर्व कार्यकारी निर्देशक यमराज कुँवरको भनाइ छ । प्रचार प्रसार गरि पर्यटकहरु बोलाउन, खाने पानी, पैदल मार्ग मर्मत सुधार, आवास गृह निर्माण गर्न र अतिथी सम्बन्धि तालिमको आवश्यकता रहेको उनले बताए ।
चार जिल्लाको विचमा रहेको खप्तडलाई विकास गर्ने हो भने हरिद्वार, कासी जानु नपर्ने साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला बुडथापाको भनाइ छ । खप्तडको विकास गर्ने हो भने यसले यहाँका जनतालाई सुसम्पन्न हुने अवसर रहेको उनी बताउँछिन् ।
अछाम, डोटी, बझाङ र बाजुराको बीचमा रहेको खप्तडको विकासका लागि सरकारी र गैर सरकारी संघसंस्थाहरुले नयाँ निती तथा कार्यक्रम ल्याउन आवश्यक छ । खप्तडको प्रचारप्रसार र निर्माण भएका होम स्टेको संरक्षण गरि बाह्य पर्यटकहरु भित्र्याउन सके रोजगारी सिर्जना हुनुका साथै आर्थिक स्थितिमा समेत सुधार हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्