
धनकुटा, वैशाख १० । सडक हिलाम्मे भएपछि संखुवासभाको टुटेदेउरालीदेखि मुढेशनिश्चरेसम्मको सडकमा जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्न व्यवसायी बाध्य भएका छन् ।
सडकको स्तरोन्नतिको काम पुरा नहुँदा संखुवासभाको टुटेदेउरालीदेखि गिद्धेसम्मको करिव तीन किलोमिटर सडक वर्षाले हिलाम्ये भएको छ । बाटो हिलाम्ये हुँदा सवारी साधन र यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
संखुवासभा र तेह्रथुमको सीमावर्ती क्षेत्र टुटेदेउरालीदेखि संखुवासभाको मुढेशनिश्चरे बजारसम्मको करिव २२ किलोमिटर सडक स्तरोन्नति गर्न डिभिजन सडक कार्यालय संखुवासभाले दुई ठेकेदार कम्पनीलाई ३६ करोड रुपैयाँमा ठेक्का दिएको थियो । तर काम अझै पूरा हुन सकेको छैन ।
सडक हिलाम्ये भएपछि दैनिक उपभोग्य सामान ल्याउन र कृषिजन्य वस्तु बजारसम्म पुर्याउन असहज भएको स्थानीय वासिन्दा पासाङ शेर्पाले बताए ।
यो सडकमा सञ्चालित सवारी साधन पटकपटक हिलोमा फस्ने गरेका छन् । वर्षा लाग्नुअघि नै हिलाम्ये भएको क्षेत्रमा सडक स्तरोन्नेति गर्न ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरिरहेको डिभिजन सडक कार्यालय संखुवासभाका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्