२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


घलेगाउँमा १९ औं ‘घलेगाउँ महोत्सव’ हुने


0
Shares

लमजुङ, बैशाख ११ । सार्क राष्ट्रको नमूना पर्यटकीय गाउँ लमजुङको घलेगाउँमा १९ औं ‘घलेगाउँ महोत्सव’ हुने भएको छ ।

गाउँलाई सुखी र समृद्ध बनाउन महोत्सव आयोजना गरिएको पर्यटन व्यवस्थापन समिति, ग्रामिण पर्यटन घलेगाउँले जानकारी दिएको छ ।

महोत्सव यही वैशाख २३ देखि २५ गतेसम्म सञ्चालन हुने छ ।

हिमालै हिमालको काखमा रहेको करिब छ सय वर्ष पुरानो घलेगाउँमा हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टेसँगै परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्णचरित्रलगायतका नृत्य, नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सकिन्छ ।

यस्तै सामूहिक भेडापालनको अवलोकन, बोटानिकल गार्डेन र भ्यु टावरलगायत घलेगाउँका आकर्षण हुन् । १३ घरबाट सुरु भएको घलेगाउँको होमस्टे अहिले ३५ घरमा विस्तार भएको छ ।

दक्षिण एसियाकै नमूना गाउँका रूपमा विकास भएको घलेगाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिकस्तर पनि उकासिँदै गएको छ ।

हाल दैनिक दुईसय भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको पर्यटन व्यवस्थापन समिति ग्रामिण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए ।