
तीन वर्षअघि गएको भूकम्पबाट भक्तपुरका ३३ हजार घर काम नलाग्ने गरी क्षतिग्रस्त भएका थिए । जसमध्ये भूकम्प लाभग्राहीको सूचीमा २७ हजार ६४४ जनाको नाम सूचीकृत भयो ।
पहिलो किस्ता लिनेको संख्या २३ हजार ३०० थियो भने दोस्रो र तेस्रो किस्ता लिनेको संख्या एकदम न्यून छ ।
हालसम्म २ हजार ८०० ले दोस्रो र २ हजार ५०० ले तेस्रो किस्ताको रकम लिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय कार्यालय भक्तपुरका सूचना अधिकारी भोजराज भट्टले जानकारी दिए ।
तीन वर्षको यस अवधिमा पुरातात्विक संरचनाको भने धमाधम पुनःनिर्माण भइरहेको छ । तर, निजी आवास निर्माणले भने अझै गति लिन सकेको छैन ।
भक्तपुर र मध्यपुर थिमी नगरभित्र कम क्षेत्रफल रहेका जमिनमा बहुस्वामित्व रहेका घर कसले बनाउने भन्नेमा विवाद हुँदा समयमै निजी आवास बन्न नसकेको हो ।
भक्तपुर नगरभित्रका केही क्षेत्र विश्व सम्पदा सूचीमा पर्ने हुँदा पीडितलाई नक्सापासमै समस्या परेको पीडित बताउँछन् ।
विश्व सम्पदा सूचीमा परेका क्षेत्रका घरधनीले भने पुरातत्व विभागबाटसमेत नक्सा सिफारिस गर्नुपर्ने कानुनी प्रावधान छ ।
तीन वर्ष समय हुँदासमेत धेरै घरको भग्नावशेष हटाउन सर्वसाधारणले सकेका छैनन् । भूकम्पले कमजोर बनाएका कतिपय घर अहिलेपनि टेकोकै भरमा छन् ।
भक्तपुर र मध्यपुर थिमि नगरपालिकाकाभित्र बस्तीहरुमा जमिनको क्षेत्रफल कम रहेकाले पुनःनिर्माणमा सोचजस्तो प्रगति हुन नसकेको प्राधिकरणको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्