
लमजुङको मर्स्याङ्दी गाउँपालिका–७, ताराचोक, सेराका किसानले धानखेत मासेर अलैंचीका बिरुवा लगाएका छन् । २५ रोपनीमा बनाइएको जालीघरमा अहिले करिब २० लाख बिरुवा हुर्किएका छन् ।
४५ लाख रुपैयाँभन्दा बढीको लगानीमा उत्पादन गरिएको बिरुवा बिक्री नहुँदा किसान निरास बनेका छन् ।
अलैंची नर्सरी किसान डम्बरसिंह अधिकारीले बिरुवा हुर्कंदासमेत बिक्री नहुँदा आफूहरु समस्यामा परेको बताए ।
बाहुनडाँडा, ताराचोक, लुदी, छिनखोला गाउँका १३ जना किसान मिलेर नर्सरी स्थापना गरेका हुन् । ‘ग्रीन टनेल’ नर्सरीमा २० लाख बिरुवा उत्पादन गरिएको छ ।
धेरै खर्च गरेर उत्पादन गरिएका बिरुवा बिक्री नभएपछि आफूहरु मारमा परेको र बिक्रीका लागि सरकारले नै पहल गरिदिनुपर्ने स्थानीय किसान सोमबहादुर तामाङले बताए ।
नेपाल अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले माग कम तर उत्पादन धेरै भएकाले बिरुवा बिक्रीमा समस्या भएको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन कार्यक्रमका प्रमुख गोविन्द कोइरालाले जिल्लामा उत्पादित बिरुवाको तथ्यांक संकलन भइरहेको बताए ।
जोन कार्यक्रम, कृषि कार्यालय, स्थानीय तह, विभिन्न संघ–संस्थासँग समन्वय गरी बिरुवा बिक्रीको पहल गरिने उनले आश्वासन दिए ।
उत्पादन वृद्धि भएपछि किसानले बिरुवाको मूल्यसमेत घटाएका छन् । रामसाई, गोलसाई, डम्बरसाई, साउने, जिर्मले र भर्लाङ्गे जातका अलैंची बिरुवाको मूल्य प्रतिगोटा ९ रुपैयाँ, पुराना गाँजबाट निकालिएको (पन्ना) प्रतिबिरुवा ७ रुपैयाँ निर्धारण गरिएको छ । गत वर्ष प्रतिबिरुवा १२ रुपैयाँमा बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्