
भैरहवा, कात्तिक ३० । नेपालमा पहिलोपटक भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित तीनदिने ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुक्रबार सम्पन्न भएको छ ।
लुम्बिनी विकास कोष, अखिल नेपाल भिक्षु महासंघ र थाइ बौद्ध विहारको संयुक्त आयोजना आयोजित समारोहमा १८ देशका ७०० भन्दा बढी भिक्षु–भिक्षुणी, उपासक–उपासिकाको उल्लासमय सहभागिता रहेको थियो ।
लुम्बिनी उद्यानमा भगवान् गौतमबुद्धका उपदेशलाई सामूहिकरुपमा वाचन गरी समारोह सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय जगतमा लुम्बिनीको थप प्रचार–प्रसार गर्न त्रिपिटक वाचन आयोजना गरिएको जनाइएको छ ।
त्रिपिटक वाचनपछि मायादेवी मन्दिरको वरिपरि मैनबत्तीसहितको शान्ति पदयात्रा तथा दीप प्रज्वलनसमेत गरिएको थियो ।
तीन दिनको त्रिपिटक वाचनले लुम्बिनीको महिमा अन्तर्राष्ट्रियरुपमै थप उचाइमा पुगेको र यसबाट पर्यटन प्रवर्धनमासमेत टेवा पुग्ने आयोजकको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्