२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


देशको आर्थिक विकासमा सबै शक्ति लगाइएको छ : दाहाल


0
Shares

काठमाडौं, वैशाख २६ । पूर्वप्रधानमन्त्री तथा नेकपा .माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी बेइजिङका सेक्रेटरी लिजियाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग बुधबार बिहान खुमलटारस्थित आफ्नै निवासमा भेट गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले भने, ‘हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो । त्यसका लागि कनेक्टिभिटी नै मुख्य हो । सडकको कनेक्टिभिटी, रेलको कनेक्टिभिटी र संचारको कनेक्टिभिटी बाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।’

उनले पर्यटन क्षेत्रको विकासका लागि चिनियाँ जनता र सरकारको चासोबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास दिलाए ।

दाहालले भने, ‘हाम्रो आर्थिक विकासको अभियानमा तपाई चिनियाँ लागनीकर्ताहरुलाई हार्दिक स्वागत छ ।’

उनले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालिन राष्ट्रपति हु जिन्ताओसँग यही कनेक्टिभिटीका विषयमा छलफल भएको स्मरण गर्दै भने, ‘म दोस्रो पटक प्रधानमन्त्री बनेपछि पनि यही बिषयमा राष्ट्रपति सि जिङपिङसँग छलफल गरेको छु ।’

त्यसैगरी चिनियाँ प्रतिनिधिमण्डलले अध्यक्ष दाहाललाई नेपालको व्यवहारिक नेतृत्व भन्दै उच्च प्रशंसा गरेको थियो । उनीहरुले चिनियाँ जनताहरुको आकर्षक गन्तव्य नेपाल भएकोले नेपालको पर्यटन प्रवर्द्धनमा चिनियाँ लगानीकर्ता लोभिएको बताएका थिए ।

दुई देशको आपसी सम्बन्धबाट नेपालको आर्थिक विकासमा सहयोग पुग्ने चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेका सेक्रेटरी लिजियाङले बताए ।