बिराज रोस्यारा (इमेज)
कैलाली, कात्तिक २७ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई मन्त्री पदबाट मंगलबार बर्खास्त गरिएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् ।
नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलको निर्देशनपछि उनलाई बर्खास्त गरिएको हो ।
सोडारी पदीय मर्यादामा नबसेको र पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै उनलाई बर्खास्त गरिएको स्रोतले जनाएको छ ।
उनी तिहारका बेला झन्डावाल गाडी दुर्घटनामा मुछिएका थिए ।
सोडारीका स्वकीयसचिव दीर्घ जोशीले सोडारीलाई मन्त्रीको जिम्मेवारीबाट हटाइएको पुष्टि गरेका छन् ।
सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नम्बरको जिप पूर्व–पश्चिम राजमार्गस्थित बढैपुरमा शुक्रबार राति दुर्घटना भएको थियो ।
दुर्घटनामा परी जिप चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, उनकै भान्जी नाता पर्ने १० वर्षीया आयुश्मा शाही र से३प २४२० नम्बरको मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका थिए ।
मन्त्री चढ्ने गाडी र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । गाडी दुर्घटना हुँदा सोडारी भने गाडीमा थिएनन् ।








प्रतिक्रिया दिनुहोस्