
एमाले र माओवादी केन्द्रबीच एकतालाई अन्तिमरुप दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको संयोजन समितिको बैठकले पार्टी एकताको निर्णय अनुमोदन गरेको हो ।
योसँगै दुवै पार्टीको आ–आफ्नो अन्तिम बैठक बसी एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गर्ने बताइएको छ ।
एकताको निर्णयसँगै दुवै दलले पार्टी विघटन भएको घोषणा गर्नेछन् । दुवै पार्टी विघटनपछि नयाँ पार्टी गठन हुने नेताहरुले बताएका छन् ।
यसका लागि अहिले एमाले केन्द्रीय कमिटीको बैठक र माओवादी केन्द्रको सचिवालयको बैठक बस्दैछ ।
बिहीबारै (आज) निर्वाचन आयोगमा एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्ने सहमति पनि भएको छ ।
बिहीबारै अपराह्न पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा हुने दुवै दलका नेताहरुले बताएका छन् ।
केन्द्रीय कमिटी ४४१ सदस्यीय
एकीकृत पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय हुनेछ । जसमा एमालेबाट २४१ जना हुनेछन् भने २०० जना माओवादी केन्द्रबाट आउनेछन् ।
कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको थियो । माओवादी केन्द्रले ५०/५० प्रतिशतको माग गरेपछि विवाद भएको थियो । तर, नयाँ सहमतिअनुसार केन्द्रीय कमिटीमा माओवादी केन्द्रले ४५ प्रतिशत पाएको छ ।
स्थायी कमिटी ४३ सदस्यीय
पोलिटब्यूरो भने तत्काल बन्ने छैन । स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ । नेताहरुकाअनुसार स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना हुनेछन् ।
चुनाव चिह्न सूर्य, पार्टीको निर्देशक सिद्धान्त ‘मार्स्वाद–लेलिनवाद’
एकतापछि पार्टीको चुनाव चिह्न सूर्य हुनेछ । पार्टीको निर्देशक सिद्धान्त ‘मार्स्वाद–लेलिनवाद’ हुनेछ । राजनीतिक कार्यदिशा ‘समाजवादउन्मुख समावेशी लोकतन्त्र’ छ ।
एमालेले भन्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्ने गरेको २१औं शताब्दीको बहुदलीय जनवादलगायतका वैचारिक मान्यतामा छलफल गर्दै जाने सहमति पनि दुई दलबीच भएको छ ।
प्रतिक्रिया दिनुहोस्