
मदन–आश्रितको सम्झनामा एमालेले विगतदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको त छ तर दुर्घटनाको वास्तविक तथ्य भने अझै ओझेलमै छ ।
वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा कहालीलाग्दो घटना घट्यो ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको गाडी चितवनको दासढुंगामा दुर्घटना भयो । दुवै नेता भण्डारी र आश्रितको दुर्घटनामा ज्यान गयो ।
धेरैले घटनालाई हत्याकारुपमा विश्लेषण गरे । छानबिनका लागि विभिन्न समिति बनाइए । तर, वास्तविकता पत्ता लाग्न सकेन । घटना भएको २५ वर्ष पुगेको छ ।
९० को दशकमा ‘बर्लिनको पर्खाल’ ढलेसँगै विश्वभर कम्युनिष्ट विचारधारा रक्षात्मक रहेका बेला मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’का नाममा नेपालमा कम्युनिष्ट विचारलाई जीवित राख्न सफल भए । यही विचारको डुंगामा चढेर नेकपा एमाले यहाँसम्म आइपुगेको छ ।
दिन, महिना हुँदै वर्षहरु बिते । तर, मदन–आश्रितको घटना भने रहस्यमै छ । मदन–आश्रितको सपना कम्युनिष्ट एकताले पूरा गरेको प्रदेश नम्बर–३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाको भनाइ छ ।
एमाले चितवनका अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलले ‘जबज’लाई विश्वले नै महत्व दिएको भन्दै मदन भण्डारीको योगदान कहिल्यै भुल्न नसकिने बताए ।
मदन–आश्रितकोे सपना पूरा गर्नकै लागि एमाले र माओवादी केन्द्रबीच एकता गरिएको र मदन–आश्रितको सपना २५ वर्षपछि साकार भएको माओवादी केन्द्रका चितवन इन्चार्ज ईश्वरी भट्टराईको पनि निष्कर्ष छ ।
पोखराबाट चितवन आउनेक्रममा मदन–आश्रित चढेको जिप त्रिशूली नदीमा खसेको थियो । आश्रितको शव गाडीमै भेटिएको थियो भने भण्डारीको घटनास्थलदेखि तल गाँजीपुरस्थित नारायणी नदी किनारमा तीन दिनपछि भेटिएको थियो ।
यसपटक एमाले र माओवादी केन्द्रले चितवनमा संंयुक्तरुपमा दासढुंगामा निर्मित मदन–आश्रित शालिकमा माल्यार्पण गरी कार्यक्रम गरे ।
मदन भण्डारीले प्रतिपादन गरेको जबजलार्ई साँच्चिकै व्यवहारमा उतार्ने जिम्मेवारी अब संयुक्त बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’का नेता–कार्यकर्तामा सरेको छ ।
प्रतिक्रिया दिनुहोस्