Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ खन्न टीबीएम प्रयोग गरिने


0
Shares

भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनाको सुरुङ खन्न प्रयोग गरिएको टीबीएम प्रभावकारी एवं सफल देखिएपछि दूधकोसीमा पनि नयाँ टीबीएम ल्याउन लागिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको १३.५ किलोमिटर सुरुङ खन्न टीबीएम प्रयोग गर्न लागिएको जानकारी दिए ।

उनले भने–‘आयोजनाको अहिले विस्तृत् अध्ययन भइरहेको छ, टीबीएम प्रयोगमा गर्नेगरी आयोजनाको डिजाइन गर्न परामर्शदाता कम्पनीलाई निर्देशन दिइसकेका छौं ।’

खोटाङको रबुवाघाटमा बन्ने बाँधबाट स्थानीय धितुङमा रहने विद्युत्गृहमा पानी खसाली विद्युत् उत्पादनका लागि सुरुङ निर्माण गर्नुपर्ने अध्ययनबाट देखिएको छ ।

खोटाङ र ओखलढुंगाको सिमाना भएर बग्ने दूधकोसी नदीमा ८०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण गर्न लागिएको छ ।

लामो समयदेखि आयोजनाको क्षमता निर्क्योल हुन सकेको थिए । कार्यकारी निर्देशक घिसिङकाअनुसार सुरुङ बनाएर ६०० मेगावाट र थप प्रविधि प्रयोग गरेर २०० मेगावाट गरी कुल ८०० मेगावाट क्षमताको आयोजना निर्माण गर्नेगरी अध्ययन भइरहेको छ ।

गत शनिबार आयोजनाको स्थलगत निरीक्षण गर्न रबुवाघाट पुगेका कार्यकारी घिसिङले आयोजना निर्माणमा स्थानीयवासीकोसमेत सेयर लगानी रहने गरी कम्पनी खोलिसकिएको जानकारी दिएका थिए ।

स्थानीयवासीसँगको अन्तरक्रियामा उनले भने–‘आयोजना निर्माणमा एसियाली विकास बैंकको लगानीको प्रतिबद्धता छ । छिटोभन्दा छिटो ठेक्का गरेर ठेकेदार छनोट गरी आयोजना अगाडि बढाउन चाहन्छौं ।’

उनले स्थानीयवासीको लगानीमा आयोजना निर्माणका लागि प्रतिफल दर आकर्षक छ या छैन विस्तृत् अध्ययन सकिएपछिमात्रै टुंगो लाग्ने प्रस्ट पारे ।

परामर्शदाता कम्पनी इएलसी इलेक्ट्रोकन्सल्ट एसपीए ‘इन एसोसिएसन विथ न्यूजेक’ जापानले आयोजनाको विस्तृत् अध्ययन गरिरहेको छ ।

कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययन अध्यावधिक साथै विस्तृत् इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय अध्ययन र ठेक्का कागजात तयार गर्नेछ । कम्पनीसँग सन् २०१६ को मेमा सम्झौता भएको थियो । कम्पनीले ३० महिनामा काम सक्नेगरी सम्झौता गरिएको छ ।

अन्तरक्रियामा रावाबेसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलासहितका स्थानीय बासिन्दाले आयोजनालाई तत्काल निर्माणमा लैजानुपर्ने माग गरेका छन् ।

निरौलाले भने–‘आयोजना कहिले निर्माणमा जाला भनेर प्रतीक्षामा छौं, डुबान क्षेत्रमा खोटाङकै सबैभन्दा बढी धान उत्पादन हुने खेत पर्छ । तर, आयोजना बन्छ भने त्यस्तो जग्गा र घरसमेत छाड्न तयार छन् ।’

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सन् २०१४ मा गरेको अध्ययनले नेपालका १० उत्कृष्ट जलाशययुक्त आयोजनमध्ये दूधकोसी पनि एक रहेको देखाएको थियो ।

जलाशययुक्त भएपनि तुलनात्मकरुपमा विस्थापित हुने घरधुरी कम रहेको र नदीको बहाव पनि राम्रो रहेकाले आयोजनालाई आकर्षक मानिएको छ ।

आयोजना प्रमुख वसन्त श्रेष्ठले आयोजनाको बाँध २२० मिटर अग्लो रहने जानकारी दिए । आयोजनाको जलाशय करिब १९ किलोमिटर फैलने छ ।

आयोजना प्रमुख श्रेष्ठले भने–‘आयोजनाबाट करिब १५० घरधुरी विस्थापित हुने अनुमान गरिएको छ ।’

आयोजनाबाट वार्षिकरुपमा तीन अर्ब ४५ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।