
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सोमबार प्रस्तुत् गरेको सरकारको नीति तथा कार्यक्रमकाबारेमा प्रतिक्रिया दिँदै कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रमले स्पस्ट मार्गदिशा नदिएको र प्राथमकिता कार्यान्वयनको स्पस्ट खाका नदेखाएको प्रतिक्रिया दिए ।
उनले भने–‘सरकारको नीति तथा कार्यक्रम असल निबन्धकारुपमा आएको छ ।’
सोही पार्टीका नेता प्रदीप गिरीले नीति तथा कार्यक्रमले मुलुकको अहिलेको प्राथमिकता र आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताउँदै श्रम समस्या सम्बोधन गर्ने स्पस्ट खाका नभएको र धेरै पृष्ठ र पुरानै शैलीको देखिएको टिप्पणी गरे ।
संविधान संशोधन गरेर पूर्णता दिने विषय समेटिएन : बाबुराम
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले समग्रमा नीति तथा कार्यक्रमलाई आफूले सकारात्मकरुपमै ग्रहण गरे पनि दुई अंकको आर्थिक वृद्धिदर प्राप्त गर्ने आधार नदेखिएको धारणा व्यक्त गरे ।
संघीयताका विषयमा नीति तथा कार्यक्रममा आवश्यक जोड नपुगेको तथा संविधान संशोधन गरेर पूर्णता दिने विषय नमेटिएको प्रतिक्रिया उनले दिए ।
सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले ‘सरकारको विकास र समृद्धिको नारालाई मूर्तरुप दिन नीति तथा कार्यक्रमलाई गाउँतहसम्म कार्यान्वयन गरेर लैजानुपर्छ’–भने ।
समग्रमा सन्तुलित : पूर्वअर्थमन्त्री कोइराला
पूर्वअर्थमन्त्री शंकर कोइरालाले मुलुकको प्राथमिकताको कार्यसूची र पूर्वधारलाई प्राथमिकता दिएको नीति तथा कार्यक्रम समग्रमा सन्तुलित नै रहेको टिप्पणी गरे ।
उनले भने–‘धेरै कार्यक्रमले निरन्तरता पाएको छ, केही दृष्टिकोणका कुरा समेटिएको छ । निजी क्षेत्रलाई भने आवश्यकरुपमा विश्वासमा लिने कार्यक्रम कम देखिएको छ ।’
पूर्ण छैन : राजेन्द्र महतो
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरसर्ती हेर्दा नीति तथा कार्यक्रममा सबै कुरा आएको देखिए पनि कार्यान्वयनले नै सबै कुरा निर्धारण गर्ने उल्लेख गर्दै संविधान संशोधनको विषय नीति तथा कार्यक्रममा नदेखिनुले यो पूर्ण नभएको टिप्पणी गरे ।
सोही पार्टीका नेता लक्ष्मणलाल कर्णले तराई–मधेसका आवश्यकता र विगतका आन्दोलनसँग जोडिएका मुद्दा फिर्तासम्बन्धी विषय लामो दस्तावेजमा नपर्नु दुर्भाग्य भएको बताए ।
‘पुरानै ढर्राबाट आयो’
संघीय समाजवादी फोरम नेपालका नेता हरिनायण रौनियारले मधेसको प्राथमिकता र संविधान संशोधनको विषय नसमेटिएको तथा नीति तथा कार्यक्रम पुरानै ढर्राबाट आएको प्रतिक्रिया दिए ।
सकारात्मक छ : परिसंघ अध्यक्ष शर्मा
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नीति तथा कार्यक्रमले समग्रमा विषयलाई समेटेको हुँदा कार्यान्वयनमा निजी क्षेत्रबाट सकारात्मक ढंगबाट पूर्ण सहयोग हुने बताए ।
‘नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा, रोजगारी, प्रतिव्यक्ति आय ५ वर्षमा दोब्बर बनाउनेलगायत विषयलाई समावेश गरिएको छ, जुन आफैंमा सकारात्मक छ’–अध्यक्ष शर्माले भने । रासस
प्रतिक्रिया दिनुहोस्