२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नीति तथा कार्यक्रमः संसदमा कसले–के भने ? (भिडियो)


0
Shares

राष्ट्रपतिले सम्बोधन गर्दा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षप्रति मर्यादित शब्द प्रयोग नगरेको भनेर १७ जनाको असहमति प्रस्तुत् भएको छ ।

नीति तथा कार्यक्रममाथि संसदमा बुधबारदेखि सुरु भएको छलफलमा सत्ता र विपक्षीबीचको बहस पनि निकै रोचक बनेको छ ।

बुधबारदेखि सुरु भएको छलफलमा प्रतिनिधिसभाका सांसदहरु नीति तथा कार्यक्रमका पक्ष र विपक्षमा उभिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सरकारलाई विश्वासको मत दिएका अन्य विपक्षी दललेसमेत नीति तथा कार्यक्रममाथि आलोचना गरेका छन् भने सत्तापक्षका सांसदहरुले बचाऊको प्रयास गरेका छन् ।

अधिकांश विपक्षी सांसदहरुले राष्ट्रपतिले संसदमा गरेको सम्बोधनकाक्रममा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई अपमानित गरेको विषयलाई प्रमुखताका साथ उठाएका छन् ।

उनीहरुले परम्परालाईसमेत ख्याल नगरिएको भन्दै सम्बोधनको विषयमासमेत संशोधन दर्ता गराएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसहित १७ जनाले नीति तथा कार्यक्रमको भाषामा सम्बोधनका सन्दर्भमा संशोधन माग गरेका छन् भने नीति तथा कार्यक्रमको विषयवस्तुमाथि ६ ओटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

संशोधन प्रस्तुत् गर्नेक्रममा संसद बैठकमा बोल्दै नेता रिजालले नीति तथा कार्यक्रमले ठूला विकास निर्माणका आयोजनाकाबारेमा केही नबोलेको भन्दै सरकारको नीति तथा कार्यक्रम ‘गफाडीको गफजस्तोमात्र’ भएको टिप्पणी गरे ।

उनले प्रतिनिधिसभा र राष्ट्रयसभाको अध्यक्षलाई गरिएको सम्बोधनलाई मर्यादित बनाउन माग गरे ।

सरकारलाई विश्वासको मत दिएका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ‘संविधान संशोधन गरिनेछ’ भन्ने विषयलाई नीति तथा कार्यक्रममा समेट्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले त्यही विषयमा संशोधन पनि दर्ता गराएका छन् ।

संघीय समाजवादी फोरमका महासचिव रामसहायप्रसाद यादवले नीति तथा कार्यक्रमले संघीयताको मूलमर्ममाथि प्रहार गरेको भन्दै नेपाल सरकारको स्थानमा ‘तीन तहको सरकार’ भन्नुपर्ने र त्यहीअनुसार तल्ला सरकारलाई अधिकार दिनुपर्नेमा त्यसो नभएको गुनासो गरे ।

राजपा अध्यक्षमन्डलका सदस्य अनिल झाले पनि संविधान संशोधन गरेर दलित उत्पीडित, आदिवासी जनजाति, मधेसीको भावनालाई समेटिने कुरा उल्लेख हुनुपर्ने बताए ।

सत्तारुढ दलका सांसदहरुले भने नीति तथा कार्यक्रम भावी नेपालको चित्रकारुपमा आएको दावी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले नीति तथा कार्यक्रममाथि आलोचना गर्ने स्थान नै नभएको बताए ।

उनले नीति तथा कार्यक्रमले सबै जनताको भावनालाई समेटेको र समृद्धिका लागि आधार तयार गरेको बताए ।

पूर्वसभामुख ओनसरी घर्तीले नेपालीको आय पाँच वर्षमा दोब्बर पुर्‍याउने योजना आउनु नै सरकार ठीक मार्गमा अघि बढेको संकेत भएको बताउँदै सबै प्रकारका सिन्डिकेट अन्त्य गर्ने नीति तथा कार्यक्रम सही रहेको धारणा व्यक्त गरिन् ।

नीति तथा कार्यक्रममाथि शुक्रबारसम्म छलफल हुने कार्यसूची रहेको छ ।

भिडियो हेर्नुहोस्